बुटवल-बुटवलमा रहेको अनलाईन पोर्टल ग्लोबल आवाज डट कमको कार्यालयमा ढुंगा प्रहार भएको छ। बुधबार राती करीब ३ बजेको समयमा ग्लोबल आवाजको कार्यालयको समाचार कक्ष र व्यवस्थापन कक्षलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो।
ढुंगा प्रहारबाट समाचार कक्षनजिकको झ्यालको शिसा फुटेको छ। बुटवलको होराइजन चोकभन्दा केही भित्रपट्टिको भवनको तेश्रो तलामा ग्लोबल आवाजको कार्यालय रहेको छ।
'राती ३ बजेतिर घरनजिकैका व्यक्ति र घरबेटीले ढुंगाले हानेको आवाज आएको बताउनुभएको थियो-ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भुसालले लुम्बिनी टाइम्ससँग भने-कसले किन ढुंगा प्रहार गर्यो भन्ने थाहा हुन सकेको छैन।'
बाहिरबाट हानेको ढुंगा कार्यालयभित्रै रहेको र यसबारे प्रहरीलाई जानकारी गराएर छानबीन थाल्न अनुरोध गरेको उनले बताए। उनका अनुसार कार्यालयमा रहेको सीसीटीभी फुटेज हेर्ने तयारी भएको छ।
ग्लोबल आवाजका सम्पादक एनबी कँडेलले ढुंगा प्रहारबाट समाचार कक्षमा क्षति भएको बताए। 'हामीसँग समाचारको विषयलाई लिएर वा अरु कुनै विषयमा विवाद भएको वा त्यस्तो कुनै रिसइबी थिएन-उनले भने-कसले किन ढुंगा प्रहार गर्यो भन्ने अनुसन्धानपछि खुल्नसक्छ।'
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले घटनास्थलको अवलोकन गर्दै छानबीन गर्न प्रहरीलाई आग्रह गरेका छन्। उनले भने-ढुंगाले हानेर तेश्रो तलामा रहेको कार्यालयको झ्यालको शिसा फुटेको छ, कसले किन यसरी ढुंगा प्रहार गर्यो छानबीन गरेर दोषीलाई कारबाही गर्नुपर्छ।'
यसरी स्वतन्त्र मिडियामाथि भएको आक्रमणप्रति लुम्बिनी टाइम्स डटकम खेद व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दछ।