दाङ । घुम्न निस्केका युवायुवतीलाई अपहरण गरेका तीनजनालाई दाङ प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ।
२३ कात्तिकमा दाङको तुलसीपुर–३, खमारीथित चमेरे गुफा घुमेर फर्कंदै गरेका एक युवा र एक युवतीलाई सोही ठाउँका बिमल वली, नवीन नेपाली र दुजबहादुर खत्रीले अपहरण गरेका थिए।
उनीहरूलाई अपहरण गरेपछि कुटपिट गरिएकाे र डरत्रास देखाएर अश्लीलता प्रकट हुने गरी मोबाइलबाट भिडिओ बनाइएकाे प्रहरीले जनाएकाे छ।
मोबाइल, पर्स लगायत युवायुवतीसँग भएका अन्य सामग्री लुटेपछि थप पाँच लाख रूपैयाँ नदिए भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की उनीहरूले दिएका थिए।
आज बिहान करीब साढे ७ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनैजनालाई नियन्त्रणमा लिएको छ।
दाङ प्रहरीले विज्ञप्ति प्रकाशित गरी पक्राउ गर्न खोज्दा भागेका उनीहरूलाई दुई राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहले जनाएका छन्।