बुटवल-बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीहरुको उद्धार गरि निशुल्क पिसिआर परीक्षण थालेको छ ।
आफन्त विहिन भएर सडकमा बेबारिसे जीवन बिताएका बेसहाराहरुलाई कोरोना संक्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उदेश्यले पिसिआर परीक्षण शुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरुको उद्धार गरी बुटवल स्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए।
यसमध्ये आठ जनाको पिसीआर परीक्षण गरिएको छ र उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरुलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ ।
प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगीहरु कोरोनाको जोखिममा नपरुन् भन्ने उदेश्यले सडकमा बेसाहरा भएकाहरुको उद्धार र पिसिआर परीक्षण गरिएको हो ।
आठजनाको स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगाएका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।
बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिक बचाउने गरि पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन । उनले लैंगिक हिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको बताइन्।
बुटवल उपमहानगरले सहयोगापेक्षीहरुको उद्धार र व्यवस्थापनमा समेत सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार बुटवल क्षेत्रबाट मात्रै लकडाउनको अवधिमा २८ जनाको उद्धार गरिएको हो भने प्रदेश ५ भरि ४५ जनाको उद्धार गरिएको छ ।