गुल्मी–गुल्मीका अधिकांश स्थानमा कोरोना संक्रमणको कारण निजामती दिवसको रौनक कार्यालयमै सिमित बन्यो। तर मालिका गाउँपालिकाका कर्मचारीले भने निजामती दिवसको अवसरमा उदाहरणीय कार्यको सुरुवात गरेका छन्।
यो जिल्लामा नौलो र रचनात्मक काम हो। उनीहरुले सोमबारबाट अत्यन्तै बिपन्न मालिका गाउँपालिका ८ मरभुङ्ग दगाासकी ५० बर्षीया राधिका सुनारको घर निर्माणको अभियान सञ्चालन गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए।
सुनारको घर निर्माणको लागि गाउँपालिकाका सम्पूर्ण कर्मचारीको तर्फबाट नगद ७५ हजार संकलन भएको थियो। तत्काल घर निर्माणको लागि डम्बर बहादुर पौडेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ।
संकलन गरेको रकम गाउँपालिका प्रमुख रित बहादुर थापाले समितिका अध्यक्ष पौडेललेलाई प्रदान गरेका छन्। गाउँपालिका प्रमुख थापाले आफुलाई पनि कर्मचारीको कामले उर्जा भरेकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले दिवसले आफु र सुनार परिवार दुवैलाई खुसी बनाउन सकेको बताए। सम्पतिको नाममा सुनारसँग चिमले बारेको खरे घर र एक महिनालाई खान नपुग्ने बारी छ। त्यही बारी पनि पनि सडक निर्माणको क्रममा माटोले पुरेर साँघुरिएको छ।
सुनारको पाखुरी नचले छाक टार्न मुस्किल पर्छ। उनी पनि शारिरीक रुपमा कम्जोर भएकाले सोचे जस्तो सजिलो छैन। भारत कमाउन गएका श्रीमान भिमबहादुर सुनार कामकै शिलसिलामा घाइते भए।
बल्लतल्ल भारतमै आफ्नो ज्यान पालेका छन्। आफु र ११ बर्षीया छोरी संगीता अपांग छन्। आमाको हात कम्जोर र छोरीले आँखा देख्दैनन्। घरमा डेढ बर्षको छोरा, अपांग छोरीसहित परिवारको पालनपोषणले सुनारलाई निकै पिरोलेको छ।