भैरहवा–रुपन्देहीको सिद्धार्थनगरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या एक सय ८९ पुगेको छ। सोमबार ११ जनामा संक्रमण पुष्टि भएसँगै सिद्धार्थनगर नगरपालिकाले सो संख्यामा संक्रमित पुगेको जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले नगरपालिका क्षेत्र भित्र सोमबारसम्म ५१ महिला र ५१ पुरुष गरी कुल एक सय २ जनामा संक्रमण पुष्टि भएको बताए ।
४ जना सिद्धार्थनगरका भएपनि कुन वडाका हुन भन्ने पुष्टि नभएपनि अन्य १ सय ८५ जना सिद्धार्थनगरका १२ वटा वडाका बासिन्दा हुन् । ‘वडा नम्बर ११ मा भने अहिले कुनै पनि संक्रमित छैनन’–प्रमुख प्रशासकिय अधिकृत मरासिनीले लुम्बिनी टाइम्ससँग भने ।
सिद्धार्थनगरमा सोमबार ४ महिला र ७ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेजका कर्मचारीको कन्ट्याक्ट टे«सिङमा परेका वडा नम्बर २ का २ जना, वडा नम्बर ८ को संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका ३ जना, हिमालयन बैकका ३ जना कर्मचारी, वडा नम्बर ६ का भैया टोलका युनिभर्सल मेडिकल कलेजमा डायालिसिस गराइरहेका बिरामी र वडा नम्बर १२ का कोरोना लक्षण देखिएका शंकास्पद एक जनामा संक्रमण पुष्टि भएको सिद्धार्थनगरकी स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिइन्।
‘स्वास्थ्य कार्यालयले मेडिकल कलेजका बिरामीहरुमा संक्रमित देखिएपनि सिद्धार्थनगरमा जोडेकाले संख्यामा फरक पर्ने गरेको छ, बिरामीहरु नगरपालिका क्षेत्र बाहिरका रहेकाले नगरपालिकाको तथ्यांकमा समावेश गरेका छैनौं’–स्वास्थ्य शाखा प्रमुख थापाले बताइन्।
सिद्धार्थनगरका संक्रमितमध्ये हालसम्म ८५ जना डिस्चार्ज भएका छन्, ७२ जना होम आइशोलेशन, ७ जना होटल आइशोलेशनमा, ३ जना नगरपालिकाको आइशोलेशनमा छन्। अहिले सक्रिय संक्रमित १०२ जना भए पनि अस्पतालका आइशोलेशनमा उपचाररत २० जना मात्र रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको नगरपालिकाले जनाएको छ।
समुदाय स्तरमा संक्रमण फैलिएपछि नगरपालिकाको स्वास्थ्य टिमले ट्रेसिङ्ग गरी सम्पर्क व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउने काम गरिरहेको छ।
जनशक्ति अभावका वावजुत स्वास्थ्यमा समस्या आएका संक्रमितसँग विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्ने, होम आइशोलेशनमा रहेका संक्रमितहरुलाई चिकित्सकहरुसँगको सम्पर्कमा राख्ने, सचेतना दिने र शंकास्पद लक्षण देखिएकालाई सम्पर्क गर्ने लगायतको काम भइरहेको कार्यालयले जनाएको छ।
नगरपालिकाको वडा नं. ८ मा सबै भन्दा बढि संक्रमित ४९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी वडा नम्बर १ मा २२ जना, वडा २ मा ११, वडा ३ मा १६, वडा ४ मा १२, वडा ५ मा १, वडा ६ मा २५, वडा ७ मा ६, वडा ९ मा ११, वडा १० मा ३, वडा १२ मा २२ र वडा नम्बर १३ मा ७ जना संक्रमण देखिएको छ।