काठमाडौं-देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबको २४ घण्टाभित्र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रदेश १ र प्रदेश २ मा भने रातिदेखि नै पानी परिरहेको छ। यो क्रम केही समय अझै जारी रहने छ। यस्तै पश्चिमका केही ठाउँमा पनि आंशिक बदली भएको र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ।
महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ। भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ।