भैरहवा-अदालतमा पेश गरेका थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रुपन्देही जिल्ला अदालतको सेवा ५ दिनसम्मका लागि स्थगित गरिएको छ।
अदालतमा अभियोग पत्रसाथ थुनछेक प्रयोजनार्थ पेश गरिएका थुनुवामा संक्रमण पुष्टि भएपछि अदालत परिसर निर्मलीकरण गर्नका लागि अदालतको सेवा स्थगित गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीले जानकारी दिए। अदालतले सूचना निकालेर ५ दिनको सबै सेवा स्थगित हुने जनाएको हो।
उनका अनुसार अदालत परिसर निर्मलीकरण गर्नका लागि भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलबाट अदालतमा पेश गरिएका चार थुनुवामा बुधवार संक्रमण पुष्टि भएको थियो।