काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूहका १३ सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहकै एकमुष्ठ राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले सल्लाहकार समूहमा पनि सोही लय समातोस् भनेर सामूहिक राजीनामा दिइएको एक सदस्यले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायत १३ जनाले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिएको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको छ ।
२०७५ भदौदेखि नै मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि साइत भने जुरेको थिएन । मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँ अनुहारलाई मौका दिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै जोडबल गर्दै आएका छन् ।
तर प्रधानमन्त्री ओलीले पन्छाउँदै आएका थिए । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नामसमेत तय भएको स्रोतका दाबी छ ।