नेपालगन्ज–बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या ६ पुगेको छ ।
दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ७० वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, स्वास प्रस्वासमा समस्या भएपछि भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराईएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते दिउँसो ३ बजे सङ्क्रमण देखिएको थियो ।
उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भदौ ६ गते राती १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि विरामीको अवस्थामा सुधार नआएपछि आज बिहान १०ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।
यसअघि नरैनापुर गाउँपालिका ५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका ६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका २ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज १ निवासी ३७ वर्षीय युवाको कोरोनाबाट मृत्यु भइसकेको छ ।