बुटवल-बुटवलमा जारी निषेधाज्ञाका कारण चहलपहल कम भएपछि समुदायस्तरमा संक्रमण फैलिन केही रोकिएको संकेत देखिएको छ।
जसको पछिल्लो उदाहरण हो, यही भदौ ६ गते कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका २० जनामध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
'संक्रमितको सम्पर्कमा गएका उनका परिवारदेखि समुदायका केही व्यक्तिहरुको स्वाब संकलन गरेर पीसीआर जाँच भएको थियो-बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले भने-उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।'
संक्रमण भइसकेपनि सुरक्षित आनीबानी र दुरी कायम गर्दा संक्रमण फैलिदैन। सो दिन संकलन गरिएकाहरुले सुरक्षित व्यवहार गरेको र पीसीआर परीक्षणका लागि स्वाब दिएपछि पनि सुरक्षित बसेकाले उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।
त्यसयता कन्ट्याक्ट ट्रेसिङपछि संकलन गरिएका अधिकांश स्वाबहरुको रिपोर्ट आउन बाँकी छ। सामान्यतया ३ देखि ७ दिनसम्ममा रिपोर्ट आउने सिंहले बताए।
तर बुटवलमा समुदायमा संक्रमण फैलिन रोकिएको भने छैन। सरकार र डब्लुएचओले भनेअनुसारका मापदण्डको पालना गर्दै सुरक्षित रहेमा संक्रमितको नजिकै रहेपनि संक्रमण नफैलिने स्वास्थ्यकर्मीहरु बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमण देखिदैमा सुरक्षित उपाय अपनाउन सकेमा संक्रमण नफैलिने बताउँछन्। उनले संक्रमण फैलिन रोक्ने सावधानी र सुरक्षाका उपायहरु अपनाउनुपर्ने बताए। मास्क लगाउने, सकेसम्म चश्मा लगाउने र जथाभावी असुरक्षित हुनसक्ने ठाउँमा नछुने र जोगिने गरेमा संक्रमण नफैलिने उनले बताए।