काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सबैले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीको ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहकै एकमुष्ठ राजीनामा आउन लागेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले सल्लाहकार समूहमा पनि सोही लय समातोस् भनेर सामूहिक राजीनामा दिन लागेको एक सदस्यले बताए ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायतले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन् ।
यिनीहरुमध्ये सबैले राजीनामा नदिने बताइएपनि पछिल्लो समयमा एकसाथ सबैले राजीनामा दिन लागेको सचिवालयका एक सदस्यले बताए ।
“प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्ने भएपछि हामी सल्लाहकारहरूले छलफल गर्यौं । सचिवालयमा पनि सो स्प्रिट कायम होस् भनेर सामूहिक राजीनामा दिने निष्कर्षमा पुग्यौं,” सचिवालयमा रहेका ती सदस्यले जानकारी दिए ।
उनका अनुसार केही सदस्यले राजीनामा दिइसकेका छन् भने केही सदस्य राजीनामा दिने क्रममा छन् । उनीहरूले कात्तिक मसान्तभित्र राजीनामा बुझाइसक्ने छन् ।
सँगसँगै मन्त्रिपरिषदमा समेत हेरफेर गर्ने तयारी नेकपामा अध्यक्षद्वयको रहेको श्रोतको भनाई छ ।