बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गको अवलोकन गर्नुभएको छ । सुरुङ मार्गको स्थलग निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतिबारे जानकारी लिनुभएको हो ।
बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउँदै उहाँले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरणसमेत गर्नुभएको थियो । चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताउनुभयो ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा खन्ने काम भइरहेको छ । अबको दुईदेखि तीन महिना भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।
यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १२६ मिटर छ । हालसम्म ४७६ मिटर खनिएको इञ्जिनियर ज्ञवालीले बताउनुभयो । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर अत्याधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङबाट छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने गरी यसको निर्माण थालिएको हो । सुरुङको बिचबिचमा आपत्कालीन द्वारका रूपमा तीनवटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्ने छ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४४१ मिटर छ ।
सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको थियो ।
यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ ।