बुटवल–प्रदेश ५ को रुकुम पूर्वमा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ।
पछिल्लो पटक जिल्लाको रुक्मिनी आइसोलेसन कक्षबाट २ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै पूर्वी रुकुममा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो।
तर सरकारले कोरोनामुक्त जिल्ला घोषणा भने गरिसकेको छैन। क्वारेन्टिनमा बसेका केहीको पिसीआर टेष्ट गरिसकेपछि मात्र कोरोनामुक्त जिल्लाको घोषणाबारे निर्णय लिइने स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख यादव प्रसाद शर्माले जानकारी दिए।
‘१४ जना जति क्वारेन्टिनमा बस्नुभएको छ, त्यसबाहेक अरु केही होम क्वारेन्टिनमा हुनुहुन्छ, त्यसैले कोरोनामुक्त जिल्ला भनिहाल्न मिलेन’–उनले भने–‘अहिले उहाँको पिसिआर टेष्ट गर्दैछौं, त्यसको रिपोर्टको आधारमा निर्णय हुन्छ।’
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राइले क्वारेन्टिनमा बसेका सँगै फिल्डमा खटेका कर्मचारीको पनि पिसिआर परिक्षण हुने जानकारी दिए।
‘अहिले चाँही संक्रमित अवस्था शुन्यमा छौं, अहिले फिल्डमा खट्नुभएका र बाहिर भएका कर्मचारीहरुलाई बोलाएर स्वाब कलेक्सन गरेका छौं’–उनले भने–त्यसै गरी समुदायस्तरबाट नमुना स्वाब संकलन गर्दैछौ, त्यसबाट रिपोर्ट कस्तो आउँछ हेर्छौ।’ पूर्वी रुकुममा अहिलेसम्म संक्रमितको संख्या २४ रहेको छ। उनीहरु सबै उपचारपछि घर फर्केका छन्।