बुटवल । कपिलवस्तुमा बस र जीप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको क. प्र. ०२–००१ ख ०५२५ नम्बरको यात्रुवाहक रात्रिबस र चन्द्रौटाबाट गोरूसिंगेतर्फ आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप जीप एकापसमा ठोक्किएका थिए।
मंगलबार बिहान ५ः३० बजे भएको उक्त दुर्घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताउनुभयो।
दुर्घटनापछि पिकअपमा च्यापिएका बढईलाई दुई घन्टापछि निकालिएको थियो। घाइतेहरूलाई उपचारको लागि बुटवल ल्याइएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो।