तिनाउ खोलामा डुबेर ४ दिनमा २ जनाको मृत्यु
बुटवल । तिनाउ खोलामा डुबेर ४ दिनमा २ जनाको ज्यान गएको छ । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर बुधबार एक किशोरले ज्यान गुमाएका छन् भने चार दिनअघि भारत गोरखपुरबाट घुम्न आएका एक युवाको पनि तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो ।
पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिक तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ हिलपार्कका १७ वर्षीय राजीव लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । चार जना साथीहरु मिलेर खोलामा पौडी खेल्न गएको र राजीवको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।
पौडी खेल्ने क्रममा राजीव बेपत्ता भएका थिए । खोलामा बेपत्ता भएसँगै प्रहरीलाई खबर गरिएको र झन्डै तीन घण्टा खोजी गर्दा उनको शव फेला परेको हो । उनले यस वर्षको एसईई दिएका थिए । काठमाडौं घर भएका राजीव बुटवलमा मामाघरमा बस्दै आएका थिए । अन्य तीन जनालाई सकुशल उद्धार गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै गत आइतबार भारतको गोरखपुरका ३४ वर्षीय ओनकारनाथ सिंहको पनि तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो । गोरखनाथ मन्दिर गोरखपुर बस्ने सिंह तीन जना साथीसहित तिनाउ खोलामा गएका थिए । फोटो खिच्ने क्रममा एक्कासी चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ ।