बुटवल । शालिग्राम महोत्सव वर्ष २०८१ अन्तर्गत यही बैशाख ७ गतेदेखि धार्मिक मार्ग यात्रा सुरु हुने भएको छ । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा नेपाल भारत सिमानाका सुनौलीबाट यात्रा सुरु हुने भएको हो । पहिलोपटक सुनौली–रुरु क्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको यात्रा गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो ।
धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्रमा पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुने छ । रुरु क्षेत्रमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधीबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने पन्तले बताउनुभयो ।
धार्मिक मार्ग यात्रा अन्तर्गत ८ गते रुरु क्षेत्रबाट मुक्तिनाथको लागि प्रस्थान गरिनेछ । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गर्ने कार्यक्रम छ । यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतको सहभागीता रहनेछ । रुरु क्षेत्रमा परापुर्व कालदेखि रहेका धामलाई पवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष पन्तले बताउनुभयो ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दुधर्मलम्बीले पुज्ने गर्दछन् । शालिग्राम शिलाको महत्वको बारेमा अन्तर्राष्ट्रिय रुपमा प्रचार र प्रवद्र्धन गर्नको लागि शालिग्राम महोत्सव वर्ष २०८१ आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अध्यक्ष पन्तले बताउनुभयो ।
शालिग्राम महोत्सव वर्ष अन्तर्गत आगामी कात्तिकमा शालिग्राम महायज्ञ आयोजना हुने छ । महायज्ञमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरुलाई निमन्त्रणा गर्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।
महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरि २५ वटा कार्यक्रम गरिने अध्यक्ष पन्तले बताउनुभयो । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठि, सभा सम्मलेन हुने छ । महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्रमा ल्याउने लक्ष्य राखिएको छ । चैत्रमा शालिग्राम महोत्सव २०८१ को समापन हुने छ ।
कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष सीपी श्रेष्ठ, उपाध्यक्ष किशोर जोसी, माडबारी सेवा समाज बुटवलका अध्यक्ष मनोज मित्तल, रवि पोखरेल लगायतले बोल्दै सबैको सहयोग र सहकार्यबाट यो महोत्सब सफल बनाउन सकिने बताउनुभयो । यो अभियानमा नाट्टा लुम्बिनी प्रदेश, होटल एशोसियसन, लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार, विभिन्न स्थानीय सरकार तथा अन्य स्थानीय संघसंस्थाले सहकार्य गर्ने भएका छन् ।