बुटवल । आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको जेष्ठ सुपुत्रका रुपमा विष्णुको अवतार लिएर श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भगवान् रामले पिता दशरथ, भाइ लक्ष्मण, भरत, शत्रुधन र धर्मपत्नी सीताप्रति प्रकट गरेको आदर्श तथा दुनियाँदारका लागि गरेको न्यायको संस्मरण गर्दै मर्यादा पुरुषोत्तमका रूपमा उनको आराधना गर्ने प्रचलन छ ।
भगवान् रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको रामायणमा पढ्न पाइन्छ । त्यसैले असत्यमाथि सत्यको विजयको रुपमा लिइने पर्व रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा पूजा आराधना गरिन्छ ।
आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज भगवान् श्रीरामको ब्रत, उपवास बस्ने र पूजा आराधना गर्नाले सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ । राम नवमीकै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।