परासी । बुद्धजन्म स्थल लुम्बिनीबाट सुरु भएको धम्मयात्रा बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूपमा पुगेर सकिएको छ । शनिबार लुम्बिनीबाट सुरु भएको एक हजार दुई सय पचास जना श्रामणेर ‘अल्पकालीन’ भिक्षुहरुको धम्मयात्रा नवलपरासीको रामग्राम स्तूपमा पुगेर दीप प्रज्वलनसहित आइतबार सकिएको हो । रामग्राम स्तूप बुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजनामा सुरु भएको धम्मयात्राका भिक्षुहरुलाई स्तूपमा पुगेपछि रामग्राम नगरपालिकासहितका सरकारी कार्यालय र विभिन्न संघसंस्थाले स्वागत गरेका थिए ।
धम्मयात्रा भैरहवा, बुटवल, देवदहहुँदै रामग्राम स्तूप पुगेर सकिएको हो । यात्राकाव्रmममा भिक्षुहरुले २५ कि.मि.को पैदल यात्रा गरेका थिए । यात्रामा सहभागी भएका कुलपुत्र प्रव्रज्या ‘अल्पकालीन भिक्षु’ गराइएको हो । भिक्षुहरूको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने गरिएको छ ।
अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्छन् । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्न भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने बौद्ध ग्रन्थमा उल्लेख छ । ‘धम्म’को अर्थ कुशल कर्म र ‘यात्रा’को अर्थ लाग्नु हो । विश्व शान्तिको कामनासहित सबै मानवजातिलाई कुशल कर्मतिर लाग्नका लागि सन्देश दिन यात्राको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । धम्मयात्रामा थाइल्याण्ड, जापान, चीन र नेपालका अल्पकालीन भिक्षुहरुको सहभागिता रहेको थियो ।
यसैबीच धम्मयात्राको समापन कार्यव्रmममा बोल्दै रामग्राम नगरपालिकाका मेयर धनपत यादवले सरकारी उदासिनताका कारण रामग्राम स्तूप क्षेत्रको विकास हुन नसक्दा यात्रामा सहभागी भएका भिक्षुहरुलाई पवित्र स्थान स्तूपमा एक रात पनि राख्न नसक्नु दुःखद भएको बताउनुभएको थियो ।