बुटवल । लुम्बिनी शिखर सम्मेलन स्थगित भएको छ । लुम्बिनी सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा यही फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको हो । मंगलवारको मन्त्रिपरिषद् बैठकले विशेष शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रिपरिषद् बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।
सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो । विश्वव्यापी रुपमा बालबालिकाको उत्थान प्रकृयामा देखिएका चुनौती र विपन्नतालाई अन्त्य गर्न, विकास प्रयासका एकिकृत र साझा दृष्टिकोणसहित एउटै आवाज र ठोस प्रतिबद्धता विकास गर्न र अन्तराष्ट्रिय रुपमा लुम्बिनीको ब्राण्डिङ गर्न लुम्बिनी प्रदेश सरकारले शिखर सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका प्रमुख, सरकार प्रमुख, पूर्व प्रमुख, नोबेल पुरस्कार बिजेता, विश्वव्यापी निर्णय निर्माता, विपन्नताबाट माथि उठेका अनुभवी युवा र युवा नेताहरुसहित नेपाली र विदेशी गरी ३ सय बढी विज्ञ सहभागी हुने तयारी थियो । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार अनुसार नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेहृम बोवी र टुवाको कर्मयान सहभागी हुने तयारी थियो ।
त्यस्तैगरी सन् २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसागै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने निश्चित भएको थियो ।
त्यस्तै शिखर सम्मेलनको अवसरमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायत पनि लुम्बिनीमा आउने टुंगो लागेको थियो ।