बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन आयोजना गरिएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको आयोजनामा यहीँ फागुन २८ र २९ गते महामानव गौतमबुद्धको जन्मभूमिमा लुम्बिनीमा हुने बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन बारे जानकारी दिन शनिबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा बुद्धका करुणा, अहिंशा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पु¥याउने बताउनुभयो ।
‘सम्मेलनबाट हाम्रो अन्य कुनै उद्देश्य छैन’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने हाम्रो प्रमुख उद्देश्य हो । केही निराधार टिका टिप्पणी आएका छन्, तिनीहरूमा कुनै सत्यता छैन ।’ शिखर सम्मेलनको सफलता लागि सबै जटनुपर्ने बताउदै मुख्यमन्त्री चौधरीले लुम्बिनी एंव सम्पूर्ण लुम्बिनीबासीको शिर उच्च बनाउने र गरिमा बढने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साथ लुम्बिनी प्रदेशको प्रतिष्ठा समेत अभिवृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।
सम्मेलनमा विश्वका विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरु लुम्बिनी आउने निश्चित भइसकेको छ । चौधरीले थप्नुभयो, ‘नोबेल पुरस्कार विजेता र अन्तर्राष्ट्रिय स्तरका राजनेताहरुको अगुवाईमा साझेदारीका साथ विश्वव्यापी रुपमा बालबालिकाको उत्थान प्रक्रियामा देखिएका चुनौती र विपन्नतालाई अन्त्य गर्ने विकास प्रयासका एकीकृत र साझा दृष्टिकोण सहित एउटै आवाज एवं ठोस प्रतिबद्धता विस्तार गर्न अभियान सुरु भएको हो ।’
सम्मेलनमा ३०० जना विज्ञहरु सहभागी हुनेछन । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार लुम्बिनीमा सहभागी हुने निश्चित भइसकेको छ । सम्मेलनमा सहभागी हुनेमा अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । भारतका सत्यार्थीले नेपालको सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन गरिरहेका छन् । नोबेल पुरस्कार विजेताहरुलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्धारी र बर्दिया राष्ट्रिय निकुञ्जमा लैजाने तयारी छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्नेछन । सम्मेलनमा १० वटा कार्यपत्र समेत प्रस्तुत हुनेछन । सम्मेलनले मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ । सम्मेलनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुटटाए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने चौधरीको भनाइ छ । बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवद्र्धन पनि सम्मेलनबाट हुनेछ । ‘बालबालिको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित हुनेछ’ गृहमन्त्री सन्तोषकुमार पाण्डेयले भन्नुभयो ।
सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान छन् । त्यस्तैगरी स्न २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् ।
त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।