बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–६ मस्याममा मंगलबार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ यात्रु घाइते भएका छन् । डुम्रेबाट तिनाउको शिखरडाँडाका लागि छुटेको लु १ ज २३७१ नम्बरको जिप गन्तव्यनजिकै चिदिसमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आठजनाको घटनास्थल र दुईजनाको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनास्थलमा तिनाउ गाउँपालिका–६ मस्यामकी ६० वर्षीया यमकुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, रिब्दीकोट–१ की ६५ वर्षीया दिलकुमारी सुनार, रूपन्देहीको देवदह–५ की २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनुभयो।
लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीया गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको छ ।
डिएसपी श्रेष्ठका अनुसार १३ सिट क्षमताको मुस्ताङ जिपमा २६ यात्रु रहेकाले ‘ओभरलोड’ भएर दुर्घटनामा परेको आकलन गरिएको छ । ‘प्रारम्भिक हिसाबले हेर्दा सिट क्षमताभन्दा बढी यात्रु देखिन्छ । छतमा चामलका बोरा र तेलका पेटी पनि थिए ।
बेलुकी भइसकेको र भीरमा घाइते अड्किएकाले उद्धारमा केही कठिनाइ भए पनि समयमै घाइतेलाई अस्पताल पु¥याउन सकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । मृत्यु तथा घाइते हुनेहरू अधिकांश स्थानीय मस्यामको चिदिस र शिखरडाँडा गाउँका छन् । प्रहरी र स्थानीयले घाइतेहरूलाई उद्धार गरी तत्काल लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका थिए ।
तिनाउ गाउँपालिकामा आज शोक बिदा
जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।
जिप दुर्घटनामा मृत्यु भएका १० जना मध्ये ५ जना पालिकाभित्रैका छन् । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ ।