काठमाडौं। नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो ।
नेपालले पहिलो खेल ७ रनले जितेको थियो । शनिबारको खेलमा पनि विजयी भएसँगै नेपालले सिरिज जितेको हो ।
सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ । २८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो । शनिबारको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै देव खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरी ७१ रन बनाए । खेलमा अनिल शाहले विस्फोटक ब्याटिङ गरी आक्रामक सुरूवात गरेका थिए । उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए ।
अर्धशतक बनाएलगत्तै उनी आउट भएका थिए । शनिबार कुशल भूर्तेलको स्थानमा उनलाई खेलाइएको थियो । अर्का ओपनर आशिफ शेख १० रन बनाएर आउट भए । देव खनालको विकेटपछि आएका भीम सार्कीले २१ बलमा ४ चौका हानेर २३ रन जोडे । पवन सर्राफले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १४ रन बनाए । त्यसपछि कुशल मल्ल र सोमपाल कामीले ९÷९ रन प्रहार गरेका थिए ।
नेपालले ४५.१ ओभरमै लक्ष्य पूरा गरेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए । उनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा सोमपाल कामीबाट आउट हुनुअघि श्रीयस मोव्बाले ४० रन जोडे । उनले ४२ बलमा ४ चौका प्रहार गरे। त्यसअघि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए । अर्का ओपनर नवनीत धलिवलले ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाए ।
त्यस्तै पर्गत सिंहले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २÷२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १÷१ विकेट लिए ।