परासी । नवलपरासीसँग सीमाना जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको मर्मत संभार एंव रङ रोगन कार्य सुरु गरिएको छ । लामो समयदेखि मर्मत र रङ रोगन नहुँदा स्तम्भहरु जीर्णजस्तै बनेपछि नेपाल र भारतका सीमा सुरक्षा निकायले मर्मत र रङ रोगन कार्य सुरु गरेका हुन् । जोर नम्बरका भारत र बिजोर नम्बरका स्तम्भहरु नेपालले गर्ने सहमतिअनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीले सोमबारदेखि मर्मत र रङ रोगन कार्य सुरु गरेको गणका प्रमुख (एसपी) धीरेन्द्रराज न्यौपानेले बताउनुभयो ।
नवलपरासी जिल्लाको नारायणीपारीको सुस्ता गाउँदेखि पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्मको साढे ४१ किलो मिटर. क्षेत्रफलले भारत उत्तर प्रदेशको सीमालाई छोएको छ । जसअनुसार नारायणीवारीको सुस्ता गाउँपालिकाको पक्लिहवादेखि गेर्मीसम्मको साढे २७ कि.मि. क्षेत्रफलमा १६ वटा स्तम्भहरु रहेका छन् । नारायणीनदी पारी रहेका सुस्ता गाउँमा भने सीमा स्तम्भ छैनन् । सुस्ताको १४ किलो मिटर क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । स्तम्भ नभएका कारण सुस्ता क्षेत्र पटक पटक भारतीय अतिव्रmमणमा पर्दै आएको हो ।
‘अहिले साढे २७ किलो मिटर क्षेत्रफलमा रहेका १३ वटा मूख्य र ३ सहायक गरी १६ वटा स्तम्भहरुको मर्मत र रङ रोगन कार्य सुरु गरिएको हो । जसमा जोर नम्बरका भारत र बिजोर नम्बरका नेपालले गर्ने सहमतिअनुसार ९ वटा बिजोर नम्बरका स्तम्भलाई हामीले रङ रोगन गर्न सुरु गरेका हौं ।’ एसपी न्यौपानेले भन्न्ुभयो । तीन दिनभित्रमा स्तम्भको मर्मत र रङ रोगन कार्य सकिने सशस्त्र प्रहरीले जनाएको छ ।