बुटवल । बुटवलमा निर्माण सम्पन्न हुन लागेको कालिकापथ सडकमा रहेका विद्युतीय पोल हटाएर नयाँ मोडलका मोनोपोल राख्न थालिएको छ।
बस्तीको बीचबाट १३२ केभिए प्रशारण लाइन लैजाँदा बस्ती नै असुरक्षित भएको भन्दै त्यसलाई हटाएर मोनोपोल राख्न थालिएको हो। त्यसको लागि आइतवारदेखि माटो परीक्षणको काम शुरू भएको छ ।
मोनोपोल चारखुट्टे जस्तो भद्दा संरचना पनि देखिँदैन । होराइजन चोकदेखि तलतिर सडकमा रहेका चार वटा ‘रिप्लेस’ गरिने नेपाल विद्युत प्राधिकरण योगीकुटी शाखाका इन्जिनियर इन्जिनियर सूर्य पाण्डेले बताउनुभयो । अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गर्नुभएको थियो ।
‘फराकिलो सडकका बीचमा रहेका चारखुट्टे हाइटेन्सनका पोलले दुर्घटनाको जोखिम समेत बढाएको छ । अब सानो मोनोपोल राखेपछि दुर्घटनामा कमी आउनुका साथै सुरक्षित पनि बढी हुन्छ । त्यसको लागि हामीलाई स्थानीयको साथ आवश्यक छ’, इन्जिनियर पाण्डेले भन्नुभयो ‘२५ दिनभित्र ड्रिल गरेर स्वाइल टेस्ट गरिसकेपछि कस्तो आकारको पोल आवश्यक हुन्छ, त्यहीँअनुसार कम्पनीलाई निर्माण गर्न दिन्छौं ।’ गर्मी अघि नै काम सक्ने गरी अघि बढेको उहाँले बताउनुभयो ।
योगीकुटीदेखि मगरघाट हुँदै मैनाहिया जाने खण्डमा भूमिगत प्रशारण लाइन विस्तारको काम पनि अघि बढेको छ । ‘चार वटा खुट्टा भएको जिग्राउँदो पोल हेर्दा पनि त्यति राम्रो देखिँदैन’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भन्नुभयो, ‘अहिले नयाँ प्रविधिका मोनोपोल विकास भएको छ । एउटा ठिङ्ग उभिने पोल हो । यसले सडकलाई साँघुरो पनि पार्दैन हेर्दा नराम्रो पनि हुँदैन । त्यो व्यवस्था अनुसार यो काम अघि बढाएका थियौं, त्यहीँअनुसार काम अघि बढेको हो ।’ अहिलेको प्रशारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेलाबेला दुर्घटनाको समेत जोखिम बढेकोले मोनोपोल राख्न लागिएको हो ।
यो पोल राखिएपछि कालिकापथ थप आकर्षक र सुरक्षित हुनेछ । विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् । नेपालमा एक दुई ठाउँलाई सुरक्षित बनाउन मोनोपोल राख्न थालिएको हो ।