बुटवल । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवल तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै पदयात्रा गरेको छ । शनिबार बिहान बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा सुरु गरिएको हो । समृद्धिको लागि पर्यटन प्रवद्र्धन नारा दिइएको हाइकिङ्ग यात्राको अगुवाइ नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले गर्नुभएको थियो ।
पर्यटन प्रवद्र्धनका यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने पौडेलले बताउनुभयो । रुपन्देही र पाल्पा पर्यटनको दृष्टिले प्रचूर सम्भावना बोकेको ठाउँ भएको दाबी गर्नुभयो । यी सम्भावनाहरुलाई सही ढंगले सदुपयोग गरेमा रुपन्देही र आसपासका ठाउँ देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्ने उहाँको भनाइ छ । ‘पर्यटकीय विकासको लागि एउटा बस्ती वा ठाउँ विशेषलाई नहेरी सम्भावना भएका ठाउँहरु एक अर्कामा अन्तरसम्बन्धित हुनुपर्छ लुम्बिनी, तिलौराकोट, देवदह, जितगढी किल्ला बसन्तपुर, केबलकार, सत्यवती, श्रीनगरलगायतका ठाउँहरु सँग जोडेर पर्यटन प्रवद्र्धनको काम गर्नुपर्छ ।’ पौडेलले भन्न्ुभयो, ‘यी प्राकृतिक, धार्मिक, पुरातात्विक सांस्कृतिक सम्पदाहरु जोडेर पर्यटन प्रवद्र्धनमा काम गर्न सकेमा रुपन्देही र पाल्पा देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ ।’
पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई, केन्द्रिय सदस्य सावित्रा अर्याल, गोमादेवी आचार्य, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा संघका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । आयोजक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बुटवल र आसपासका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको लागि पदयात्रा आयोजना गरिएको जानकारी दिनुभयो ।