बुटवल । पुर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा निर्माणाधिन पुलको खाल्डोमा स्कुटर खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–८ बनकिट्टा बस्ने अन्दाजी २२ वर्षिय निराजन श्रीष मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।
आइतबार बिहान देवदह नगरपालिका–१० भलुही जंगल क्षेत्रमा खैरेनीबाट बुटवल तर्फ आउँदै गरेको मगर सवार लु ६७ प ७००४ नम्बरको स्कुटर आफै अनियन्त्रीत भई निर्माणाधिन पुलको खाल्डोमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पण्डीतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको बुटवल–नारायणगढ सडकखण्डमा निर्माण कम्पनीले जथाभावी डाइभर्सन निर्माण गर्ने, आवश्यक ट्राफिक चिन्ह सडकमा व्यवस्थित नगर्ने तथा धुलो नियन्त्रण गर्न प्रयोग गरिने पानीको कारण सडक चिप्लो हुँदा दुई पाङ्ग्रे सवारीहरू अत्यधिक चिप्लिने र दुर्घटनामा पर्ने गरेका छन् ।