दाङ । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो । उहाँले राससले सही र सत्य समाचार दिइरहेकाले यसको निरन्तरताको खाँचो औँल्याउनुभयो । सो अवसरमा मन्त्री खनालले सञ्चारकर्मीलाई खोजी समाचारमा जोड दिँदै सङ्घीयताका विषयमा जनतालाई राम्रोसँग बुझाउन आग्रह गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लुम्बिनी प्रदेश सरकारसँग रासस सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राससले त्यसका लागि तयारी गरेको छ ।’ राससको मान्यता सबैले सजिलोसँग सूचना पाउनुपर्छ भन्ने रहेको कार्यकारी अध्यक्ष झाको भनाइ थियो । ‘राज्यको सञ्चारमाध्यम भएकाले राससले यसको दायरा फराकिलो बनाउनका लागि विभिन्न मातृ भाषाका समाचार दिने तयारी गरेको छ’, उहाँले भन्नुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राइले सञ्चारकर्मीको क्षमता विकास गरेर राससले प्रभावकारी सेवा दिने बताउनुभयो । नेपाल पत्रकार समहासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकारको क्षमता विकाससँगै राससको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयका कानून अधिकृत मञ्जु पोखरेलले रासससँग सहकार्य गरेर काम गर्ने उल्लेख गर्दै सञ्चार ऐन निर्माण गरी काम अघि बढाइएको जानकारी दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न कार्यालयका प्रमुख तथा प्रदेशका १२ जिल्लाका राससका स्थानीय समाचारदाता सहभागी हुनुहुन्छ ।