बुटवल–स्वास्थ्यकर्मीमध्ये नेपालमै पहिलो कोरोना भाइरस संक्रमित कपिलवस्तुकी स्टार्फ नर्समा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ।
जिल्ला अस्पताल, कपिलवस्तुमा कार्यरत ती नर्सलाई पहिलो पटक वैशाख ३० गते संक्रमण देखिएको थियो।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पुनः पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको हो। कपिलवस्तु अस्पताल तौलिहवामा उनीसहित २१ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ।
२१ स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएपछि अस्पतालमा आकस्मिक बाहेक अन्य सेवा बन्द छन्।
पछिल्लो समय कपिलवस्तुमा समुदाय स्तरमा कोरोना फैलिएपछि गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म पुनः लकडाउन गरिएको छ। कपिलवस्तुमा संक्रमितको संख्या १ हजार नजिक पुगेको छ भने २ जनाको मृत्यु भएको छ।