भैरहवा–सिद्धार्थनगर भैरहवामा टोलनजिकै कोरोना संक्रमितलाई उपचारका लागि राख्ने आइशोलेशन बनाउने तयारी गरिएपछि स्थानीयले विरोध गरेका छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर २ जङ्गल टोल स्थित श्री बाल बहिरा विद्यालयमा आइशोलेशन कक्ष बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले प्रत्येक पालिकामा क्वारेन्टिन र आइसोलेशन बनाउनुपर्ने निर्णय गरेको थियो।
सोही निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले सो विद्यालयमा आइशोलेशन सहितको व्यवस्थापन गर्न थालेपछि स्थानीयले विरोध जनाएका हुन्।
विद्यालय टोल नजिकै रहेकोले कोरोना भाइरसका संक्रमित राख्दा स्थानीय नागरिकको स्वास्थ्य जोखिममा पर्ने भएको र नगरपालिकाले स्थानीयको स्वास्थ्यसँग खेलवाड गर्न खोजेकोले विरोध जनाएको जंगलटोलका स्थानीयले बताएका छन्।
वडा नं. २ का अध्यक्ष दीपक कुमार थापाले सोही वडाका पनि संक्रमित रहेको र कन्ट्याक्ट ट्रेसिङमा परेकाले समुदायलाई असर नगर्ने गरी सुरक्षित हिसाबले आइसोलेशन बनाउने बताए।
उनका अनुसार सो ठाउँमा ५० बेडको आइसोलेशन बन्नेछ। ‘काम शुरु गर्ने समयमा विरोध भएकोे छ, उनले भने–हामीलाई पनि स्थानीयको माया छ, स्वास्थ्यबारे चिन्ता छ, यसबारे भोलि थप छलफल गरेर सुरक्षित हुनेगरी आइसोलेशन निर्माणको काम अघि बढ्छ।’