बुटवल । लुम्बिनी विकास कोषले काठमाडौँमा सम्पर्क कार्यालय खोल्ने तयारी गरेपछि सर्वत्र आलोचना भएको छ ।
कोषका नवनियुक्त उपाध्यक्ष ल्हारकाल लामाको अध्यक्षतामा बसेको सचिवालय बैठकले विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा खोल्नका लागि कार्यकारिणी बैठमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेपछि आलोचना भएको हो ।
यसअघि काठमाडौँमा सम्पर्क कार्यालय हुँदा पदाधिकारी लुम्बिनीमा नआउने तथा स्थानीयलाई अपनत्व नभएपछि पुनः लुम्बिनीमै राखिएको थियो । अहिले लामा उपाध्यक्षमा नियुक्त भएसँगै सम्पर्क कार्यालयका नाममा कार्यालय लैजान खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । सामाजिक सञ्जालमार्फत पनि विकास कोषको कार्यालय काठमाडौं लैजाने कुरा मान्य नहुने चेतावनी यस क्षेत्रका नागरिकले दिएका छन् ।
यसैबिच लुम्बिनी होटल संघले पनि सम्पर्क कार्यालय लैजाने प्रस्तावमा विमती जनाएको । संघका अध्यक्ष गोविन्द ज्ञवालीले एक विज्ञप्ति प्रकाशित गरी निर्णय सच्चाउन माग गर्नुभएको छ ।
“बिगत केही बर्षअघि सम्म पनि लुम्बिनीले भोगेको नियती काठमाडौँमा कोषको सम्पर्क कार्यालयको नाममा मुख्य कार्यालयको काम गर्ने, हरेक साना साना बैठक र निर्णय उतै हुने, कार्वान्वयन लुम्बिनीमा हुँदा मात्र निर्णय थाहा पाउने, स्थानीय जनता पर्यटन ब्यबसायीहरुले उपाध्यक्ष समेत नचिन्ने, स्थानीयको गुनासो पिर र सुझाव समेत कुण्ठित हुने याबत समस्याहरबाट बल्ल तल्ल त्राण पाएको अबस्थामा फेरि नयाँ जिम्मेवारी साथ आएका श्रद्देय उपाध्यक्षको गलत निर्णयले इतिहास दोहोरिने देखिँदै छ”, विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनीको नेतृत्व लुम्बिनी मै बसेर हुनु पर्ने भन्दै अध्यक्ष ज्ञवालीले अन्यथा लुम्बिनी बिकास कोषको नेतृत्व लुम्बिनीका स्थानीय नै हुनुपर्ने निष्कर्षमा स्थानीय नागरिक र व्यवसायी एकजुट भइ सरकारको निर्णय नै बदल्न दवाब पर्ने हुँदा समय मै सचेत रहन चेतावनी दिनुभएको छ ।
उहाँले निर्णय सच्च्याइ समग्र लुम्बिनीको बिकासमा हातेमालो गर्न गराउन लुम्बिनीका होटल तथा पर्यटन व्यवसायीहरुका तर्फबाट जोडदार माग गर्नुभएको छ ।
लुम्बिनी बिकास कोषको शुक्रबार बसेको बैठकले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।