बुटवल । प्रदेश नं ५ सरकारलाई कोरियन क्रुपि फाण्डेशनले लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेशिन’ उपलब्ध गराएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजित एक कार्यक्रममा फाण्डेशनका अध्यक्ष लि साङ हुनले आज प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् ।
फाउण्डेशनले रु ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य रु एक लाख ५० हजार परेको बताइएको छ । सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने विश्वास गरिएको छ । त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको रु एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।
सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेशिन र औषधि वितरण गरेको थियो । यस वर्ष काठमाडौ महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको जनााइएको छ । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ ।
सो अवसरमा मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने बताए ।
मेशिन हस्तान्तरण गर्दै फाउण्डेशनका अध्यक्ष हुनले नेपालमा लामखुट्टे नियन्त्रण आफुहरुको लक्ष रहेको भन्दै यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वास व्यक्त गरे ।
रुपन्देहीमा डेङ्गुबाट मात्रै यो बर्ष तीन जनाको मृत्यु भइसकेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं ५ का प्रमुख सचिब तोयानाथ ज्ञवाली,आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब संकर प्रसाद खरेल लगायतको सहभागिता रहेको थियो ।