बुटवल । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। यस्तै अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप छ।
लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिहनुभएकोछ । उहाँले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर लामिछानेले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लि।नुभएको थियो ।
लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिनुभएको थियो । यस विषयमा निर्वाचन आयोगमा पनि उहाँविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान सम्पन्न भइसकेको थियो।
त्यसपछि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले परिसरलाई निर्देशन दिएपछि अनुसन्धान थालिएको हो ।
यसैबिच गृहमन्त्री लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर गरिएको छ ।
यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा हुनुहुन्छ भने प्रकाशमानसिंह राउत हट्नुभएको छ ।
वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा हुनुहुन्थ्यो । यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् रहनुभएको छ ।