बुटवल-रुपन्देहीमा अख्तियार अनुसन्धान आयोगका कर्मचारीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। अख्तियारका एक प्रहरी निरिक्षकले सोमबार रुपन्देहीको सालझण्डीमा तस्वीर खिच्ने क्रममा पत्रकार दिनेश पाण्डे र भगवती पाण्डेलाई दुर्व्यवहार गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरिक्षक रोशन पाण्डेले लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेको क्यामेरा खोसेका थिए। क्यामेरा खोसेको विषयमा प्रश्न गर्दा उनले पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेलाई समेत हातपात गरेको पत्रकार पाण्डेले बताएका छन्।
अख्तियार कार्यालय बुटवलबाट खटिएका उनीहरुले पूर्व पश्चिम राजमार्गको सैनामैना-सालझण्डी सडक खण्डमा सवारी साधनको चेकजाँच गरिरहेको अवस्थामा तस्विर लिन खोज्दा एक्कासी झम्टिदै पत्रकार भगवती पाण्डेको क्यामेरा खोसेको पाण्डेले बताए।
सादा पोशाकमा रहेका उनीहरुले तस्विर खिचेको विषयमा विवाद गर्दै क्यामेरा खोसेको पत्रकार भगवती पाण्डेले बताइन्। क्यामेरा खोस्नुको कारण सोध्दै परिचय सोध्दा आफ्नो मोबाइल समेत खोसिएको पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष पाण्डेले बताए। फोटो खिचेको विषयलाई लिएर क्यामेरा खोसेका प्रहरी निरिक्षक पाण्डेले करिव १० मिनेटपछि फिर्ता गरेका थिए।
यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले असमझदारीका कारण घटना भएको हुनसक्ने बताएको छ। बुटवल कार्यालय प्रमुख भीष्मकुमार भुसालले अख्तियारले अनुसन्धान गरिरहेको अवस्थामा तस्वीर लिन नपाइने भएकाले दुर्व्यवहार गर्ने नियत नभएको बताए।
यसैबीच पत्रकार महासंघ रुपन्देहीले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। अध्यक्ष यानेन्द्र जिसी र सचिव रामप्रसाद आचार्यले विज्ञप्ति निकाल्दै घटनाबारे अनुसन्धान गर्न अख्तियारसँग माग गरेका छन्।