बुटवल-रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्कमा तोडफोड भएको छ। प्रदेश ५ सरकारको सहयोगमा निर्माण हुन लागेको सो पार्कमा तोडफोड भएको हो।
गाउँपालिकाको मानपकडीमा रहेको ऐतिहासिक दर्वाह मन्दिर र सोको वरिपरि रहेको भूभागलाई उपयोगमा ल्याइ मानपकडीमा लाग्ने मेलालाई व्यवस्थित बनाउने, मेलामा आन्तरिक पर्यटकलाई मनोरञ्जनको लागि डुङ्गामा सयर गराउने र उत्तरतर्फ एउटा व्यवस्थित मनोरञ्जन पार्क बनाइ त्यसको सौन्दर्यकरण गरी आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दर्वाह पार्क (उद्यान) निर्माणको कार्य थालनी गरिएको थियो।
उद्यानभित्र व्यवस्थित शौचालय, सेडहरु, विभिन्न किसिमका बिरुवा, फूल, पानीका फोहोरासहितको ‘आइल्याण्ड’ निर्माण कार्यसमेत परिकल्पना गरिएको थियो। सो क्षेत्रमा निर्माण हुँदै गरेको संरचना तोडफोड भएपछि गाउँपालिकाले त्यसमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ।
गाउँपालिकाले शनिबार पत्रकार सम्मेलन गरी कांग्रेस गाउँ कमिटिका सभापति शेरवहादुर काफ्ले, विपिनकुमार कुर्मी र कृष्ण चौधरीको योजनामा तोडफोड भएको आरोप लगाएको छ। सो ठाउँमा छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेका अवस्थामा एक्कासी पार्कको वाल, त्यसमा रहेको फलामको रेलिङ र तारजाली तोडफोड भएको गाउँपालिकाले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रदेश सांसद तुलसीप्रसाद चाैधरीले भने-'हिजाे मध्यदिन मै दर्बाहकाे संरचना अराजक समुहले भत्काईरहयाे, प्रहरी निरिक्षक सहितकाे टाेली रमिते बनेर बस्याे, उसले कसैलाई राेकेन, मैले सिडिओलाई १७ पटक फाेन गरेपछि बल्ल उठाउनुभयाे, सार्वजनिक सम्पति नष्ट गराउने सूचना आएकाे छ, प्रहरी परिचालन गरेर राेकाउनु पर्यो भन्दा वेवास्ता भयो।'
गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले पार्क निर्माणको काम गुरुयोजनानुसार भएको उल्लेख गर्दै विकासनिर्माण रोक्नका लागि षड्यन्त्र भएको बताए। उनले योजना निर्माण गर्दा कुनै असहमति नभएको जानकारी दिँदै केही व्यक्तिको उक्साहटमा तोडफोड र तालाबन्दी भएकाले क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति भराउनाका साथै विकासनिर्माणमा अवरोध पुर्याउनेलाई सार्वजनिक फौजदारी अपराधमा कारवाहीका लागि सम्बन्धित निकायमा माग गरे। जनप्रतिनिधिहरुले तोडफोड रोक्न नसकेको भन्दो रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारबाही गर्न समेत माग गरेका छन्।
शुक्रबार सो समूहले गाउँपालिकाका अध्यक्षको कार्यकक्ष र गाउँपालिका– ५ स्थित कार्यालयमा समेत तालाबन्दी गरेको छ। गाउँपालिकाको प्रथम गाउँसभाको निर्णयअनुसार पार्क निर्माणको प्रक्रिया अघि बढेको थियो।
वन, वातावरण तथा उद्योग मन्त्रालयको गत आर्थिक वर्षको रु ५० लाख र समपूरक बजेटको रु ५० लाख र गाउँपालिकाको रु ३० लाखसहित रु एक करोड ३० लाखको लागतमा करिब एक बिघा जग्गामा पार्क बन्न लागेको थियो। पार्कको करिब २० प्रतिशत काम सकिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले दर्वाह क्षेत्रलाई पर्यटकीय आर्कषक केन्द्रका रुपमा निर्माण गर्न गुरुयोजनाअनुसार नै काम गर्न लागिएको उल्लेख गर्दै सातौँ सभाले व्यवस्थित घाट निर्माणका लागि रु २० लाख बजेट विनियोजन गरेको जानकारी दिए। नेपाली काँग्रेस गाउँ कमिटीका सभापति शेरबहादुर काफ्लेले तोडफोड गर्ने पार्टीको कुनै उद्देश्य नरहेको जिकिर गर्दै प्रदर्शनमा उत्रेको समुदायले गरेको बताए।
ईलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरिक्षक राजेन्द्र खड्काले मान्छेहरुकाे भीड ठूलाे रहेको र थाेरै संख्यामा भएकाे प्रहरीले नियन्त्रण गर्न नसकेकाे बताए। उनले भने-'हामीले राेक्ने काेशिस गरेकाे हाे, सकेनाैं।'