बुटवल-रुपन्देहीको सियारी गाउँपालिकाले वैदेशिक रोजगारका क्रममा मृत्यु भए मृतकका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने भएको छ। तेस्रो तथा खाडी मुलुकमा गइ वैदेशिक रोजगारका क्रममा मृत्यु भए मृतकका परिवारलाई आत्मनिर्भर गराउने उद्देश्यले सो रकम दिने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए।
वैदेशिक रोजगारका क्रममा सियारी–५ बस्ने अमृत जि.सी.को साउदी अरवमा मृत्यु भएपछि उनको शोक सभा कार्यक्रममा गाउँपालिका अध्यक्ष अयोध्या थारुले यस्तो जानकारी गराएका हुन्।
वैदेशिक रोजगारका क्रममा मृत्यु भए घरका सदस्यहरुको बिचल्ली वा परिवारको आर्थिक स्थिति झन् कम्जोर हुनसक्ने भएकोले मृतकका परिवारलाई आर्थिक सहयोग गरिने उनले बताए।
उनले भने–“वैदेशिक रोजगारका क्रममा साउदी अरबमा अमृत जि.सी.को दुःखद् निधन भयो, परिवारमा आम्दानीको स्रोत गुम्ने भयो, परिवारलाई आत्मानिर्भर बनाउन गाउँपालिकाले सहयोग गर्छ, सहयोगका लागि ५० हजार रकम गाउँपालिकाको तर्फबाट दिईने छ र अब उपरान्त तेस्रो तथा खाडी मुलुकमा रोजगारका शिलशिलामा मृत्यु भए मृतकका परिवारका नजिकका सदस्यलाई गाउँपालिकाले ५० हजार दिईनेछ जसले व्यवसाय वा अन्य काम गरि आत्मानिर्भर हुन सहयोग मिल्ने छ।”
सहयोग रकम तथा राहत पाउनका लागि वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ब्यक्ति र मृतकका परिवार सियारी गाउँपालिका भित्रका स्थायी बासिन्दा हुनुपर्ने र तेस्रो तथा खाडी मुलुकमा रोजगारका शिलशिलामा मृत्यु भए मात्र सो रकम मृतकका परिवारले पाउने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताइन्।
-नरेश चौधरी