बुटवल–झण्डै चार महिना लामो लकडाउन अन्त्य भएसँगै बुटवलको मैनाबगरमा रहेको अटो भिलेजमा चहलपहल बढेको छ। सार्वजनिक यातायात खुल्ला हुने भएपछि अटो भिलेजमा आफ्ना सवारी साधन सर्भिसिङ गराउने आउनेको संख्या बढेको बुटवल अटो इन्जिनियरिङ एशोसिएसनले जनाएको छ।
दुई तिन दिनको अन्तरमा अटो भिलेजमा भित्रने गाडीको संख्या दोब्बर जसो बढेको एशोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बताए। ‘अहिले दैनिक साढे दुईसय गाडी भित्रिएका छन्, पहिले सय डेढ सय वटा जति आउँथे–उनले भने–ट्रक, बलेरो, छोटा हात्तीहरु आइरहेका थिए, अहिले बसहरु पनि आउन थालेका छन्।’
चैत्र ११ गते लकडाउन भएपछि अटो भिलेजको काम १२ दिन सम्म पूरै बन्द भएको थियो। त्यसपछि फाटफुट रुपमा खुलेको थियो। जेठ ८ गतेबाट ९ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको थियो।
अब लकडाउन अघिको सामान्य अवस्थाको जस्तै बिहान ७ बजेबाट राती ८–९ बजेसम्म काम हुने अध्यक्ष पाण्डेले बताए ।
‘बुटवलका डिएसपी र मेयर सा’बसँग कुरा गरेका थियौं, उहाँले पहिले जसरी नै चलाउँदा हुन्छ भन्नुभएको छ, अब बिहानैदेखि रातीसम्म खोल्छौं।’
अटो भिलेजमा मर्मतको लागि गाडीहरु भित्रिन थालेको भएपनि आधाजति कामदार मात्र आएको एशोसिएसनले जनाएको छ। ‘५० प्रतिशत जति मात्र कामदार आएका छन्। भारतबाट आएकाहरु केही आइसके। कतिपय क्वारेन्टाइनमा छन् एक दुइ दिनमा आउलान्।’ बुटवलको मैनाबगरमा रहेको अटो भिलेजमा ६ सय व्यवसायीहरु रहेका छन्।