बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा तीन दिनदेखि झाडापखालाको प्रकोप फैलिएपछि गम्भीर बिरामी भएर अस्पताल आउनेको संख्या ह्वात्तै बढेको छ। अहिले कृष्णनगरका वडा नं. ७, ८ र ९ तथा महाराजगंजका केही वडाहरुमा सयौंको संख्यामा झाडापखालाका बिरामीहरु रहेको त्यहाँको शिवराज अस्पताल बहादुरगंजले जानकारी दिएको छ।
कृष्ननगरका वडा नं. ७, ८ र ९ तथा महाराजगंजका केही वडाहरुबाट बिरामीहरु ह्वात्तै आएपछि शैय्याको अभावमा भूइँमा नै राखेर उपचार गरिएको सूचना अधिकारी उपाध्यायले बताए। उनका अनुसार अहिले अस्पतालमा एक सय जतिको हाराहामीमा रहेका छन्।
"अस्पताल पुरै भरिएको छ। गाउँगाउँबाट बिरामीहरु आइरहेका छन्," सूचना अधिकारी उपाध्यायले भने, "कसरी व्यवस्थापन गर्ने भनेर हम्मे हम्मे परेको छ।"
यसअघि कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको थियो। ५ बर्षका राज कश्यप र ४० बर्षका रामप्रसाद केवटको मृत्यु भएको शिवराज अस्पताल बहादुरगंजले जनाएको छ।
झाडापखालाका प्रकोप बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दुई डाक्टरहरुसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ। यता नगरपालिकाको स्वास्थ्य शाखाबाट समेत एउटा टोली प्रभावित क्षेत्रमा खटिएको छ।
स्वास्थ्य कर्मीहरुले घरघरमा नै गएर बिरामीको अवस्था बुझिरहेको सूचना अधिकारी उपाध्यायले बताए। उनको अनुमानमा प्रभावित वडामा ८० देखि १०० जना जति झाडापखालाका बिरामी छन्।
अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ। अन्य केहीको भने नीजि क्लिनिकमा उपचार भइरहेको छ। नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन्।
नगरपालिकाका प्रमुख रजतप्रताप शाहले झाडापखालाको कारण यकिन हुन नसकेपनि दूषित् पानीबाट प्रकोप फैलिएको हुनसक्ने आँकलन गरिएको बताए। यसबारेमा बुझ्न लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको टोली प्रभावित स्थलतर्फ जान लागेको छ।