बुटवल। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले 'अहिलेसम्मै ठूलो' खोजवीनबाट हिजो आइतबार अबेर श्रीङ्खलाबद्द समाचारहरु प्रकाशित गरेको छ। त्यो खोजलाई 'प्याण्डोरा पेपर्स' नाम दिइएको छ।
प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए । प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो । यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज (फाइल्स) केलाइएको थियो । यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ । सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन् । तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन् । यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ ।
आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो ।
आइसीइआइजेका सम्पादक किरण नेपालका अनुसार प्याण्डोरा पेपर्सले विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा गरेको बताएका छन्।
उनले सीइजे नेपालको सम्पादकीयमा लेखेका छन्, "अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने मात्र होइन तस्करी र गैरकानूनी गतिविधि समेत बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थ–व्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ ।"
आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो।
"हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं । यी ‘ल फर्म’ ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन्," अष्ट्रेलियाको एबीसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा आईसीआईजेका निर्देशक जेरार्ड रायलले भनेका छन्।
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो । आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको उनको भनाई छ । "स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो," उनले भनेका छन्।
उनका अनुसार आम मानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन् । यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छायाँ विश्व छ, एउटा छायाँ अर्थव्यवस्था चलिरहेको छ । यो छायाँ संसारबारे हामी सचेत छैनाैं, जहाँ कपट र धोका छ । यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ ।
"हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो । तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छायाँ व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन्," उनले अन्तरवार्तामा भनेका छन्।
सीआईजे नेपालका सम्पादन नेपालका अनुसार यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकर सहित पाँच वटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिककोे अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।
"कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै चार हजार दस्तावेज (फाइल्स) केलाइएको थियो," सम्पादकीयमा उनले लेखेका छन्।
उनका अनुसार प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम हुनुको अर्थ हो, कर छली तथा अवैध तरिकाले कमाएको रकम विदेश पुर्याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ ।
नेपालको कानूनले राष्ट्र बैंकको स्वीकृति विना आफ्ना नागरिकलाई विदेशमा लगानी गर्न रोकेकाले पनि नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो । यसअघि आईसीआईजेसँगको सहकार्यमा खोज पत्रकारिता केन्द्रले यस्तै अफशोर लगानीबारे नेपालिक्स खुलासा गरेको थियो । तर, अफशोर लगानी गर्ने कसैलाई पनि अहिलेसम्म कारबाही भएको सार्वजनिक जानकारीमा आएको छैन । त्यसबाट पुष्टि हुन्छ– अफशोर लगानी गर्नेहरूलाई अधिकारसम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष/परोक्ष संरक्षण छ ।
आईसीआईजेका निर्देशक जेरार्ड रायल भन्छन्, “जसले यस्तो समानान्तर अर्थ–व्यवस्थालाई रोक्न सक्छन् उनीहरू नै यसबाट लाभान्वित भइरहँदा यो चाँडै रोकिने सम्भावना देखिन्न । त्यसैले विश्वभरबाट आम मानिसले यस विरुद्ध आवाज उठाउनु जरूरी छ, किनभने यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ ।” उनका अनुसार राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन ।