साहित्यमा निरन्तर विमर्श र समीक्षा चलिरहन्छ । साहित्य सिद्धान्तका परिभाषा, तत्व, प्रयोजन, उद्देश्य, गुण दोष आदिको पारख भइरहन्छ । साहित्यको गुणात्मक विकासको खोज अनुसन्धान चलिरहन्छ । नयाँ नयाँ प्रयोग भइरहन्छन् । नयाँ नयाँ विधाहरु जन्मने र स्थापित हुने सम्भावना रहिरहन्छ । यो गति किमार्थ रोकिंदैन । साहित्य अन्तरगत के के कुरा पर्छन् ? के के मिलेर साहित्य बन्छ ? साहित्य कस्तो हुनु पर्छ ? कुन कुन समयमा कस्ता कस्ता कृतिहरु सिर्जना भए ? साहित्य कला र सँस्कृतिको अन्तर सम्बन्ध के हो ? यी विषयहरुमा हामीले छलफल चलाई रहन्छौं । यो साहित्यिक कर्म हो ।
आज म २०७८ साल आश्विन ९ गतेको वाणगङ्गा क्याम्पस लौगाईमा प्राज्ञ बुँद रानाले विमोचन गरेको र साहित्यकार सूर्य भुसाल र ज्ञानराज अर्यालले समीक्षा गरेको कृति ‘जीवन प्रवाह’को विषयमा केही थपथाप समीक्षा गर्न गइरहेको छु । यस समीक्षामा खण्डकाव्यको सैद्धान्तिक आधारमा टेक्दै चर्चा चलाउँछु ।
खण्डकाव्य जीवनको एउटा अंश हो । यसमा जीवनको एउटा घटना र एक विषयमा केन्द्रित हुन्छ । महाकाव्यजस्तो मंगलाचरण राख्नु पर्दैन । महाकाव्यमा जस्तो सर्गादिको कडा नियम पालना गर्नु पर्दैन, तथापि सर्गबद्ध चाहिं हुन्छ । खण्डकाव्य ८ सर्गभित्र रचिन्छ । खण्डकाव्यमा कथानक एकदेशीय हुन्छ । त्यसमा अन्य उपकथाहरु आउँदैनन् । कथामा पात्रपात्राहरु आउँछन् ।
महाकाव्यमा जस्तो धेरै पात्रहरु देखिदैनन् । पात्रपात्राहरु बीच आपसमा संवाद हुन्छ । घटना घटेको स्थानको प्रकृति समाज रहन सहन आदिको परिवेशको गतिशील झलक आउँछ । आन्तरिक वाह्य द्वन्द्व हुन्छ । कथामा प्रारम्भ, विकास र चरमउत्कर्ष पनि आउँछ । खण्डकाव्य महाकाव्यको लघु आकार हो । यही आधारमा नै यसको समीक्षा गरिनु पर्छ । नेपाली साहित्यमा मुनामदन, पापिनी आमा, आगो र पानीजस्ता उत्कृष्ट खण्डकाव्यहरु छन् । पछिल्लो पटक मानक खण्डकाव्यका रुपमा आएको महाकवि रामप्रसाद ज्ञवालीको ‘एकादेशमा’ खण्ड काव्य हो ।
कुनै पनि साहित्यकारमा सिर्जनाको प्रस्फुटन हुनुमा आन्तरिक कारण प्रधान र वाह्य कारण गौण हुन्छ । आन्तरिक कारण प्रतिभा, व्युत्पत्ति र अभ्यास हो । कृष्णप्रसाद पाण्डे तम्घासमा जन्मेका हुन् । तम्घास साहित्यका दृष्टिले उर्बर ठाउँ हो । त्यही वाह्य परिवेशले उनलाई साहित्यतिर आकर्षण गरेको हुनु पर्छ । तम्घासमा संस्कृति, भाषा, साहित्य, कलामा समृद्धि मानिन्छ । यो डा. टिकाराम पन्थीजस्ता राष्ट्रिय विभूति जन्माएको ठाउँ हो । त्यहाँ दर्जन ज्यादा साहित्यकारहरु आज पनि सिर्जनाका किबोर्ड थिचिरहेका छन् । कलम घोटिरहेका छन् । ब्रसहरु चलाइरहेका छन् । लेखक कृष्णप्रसाद पाण्डेका आफ्नै सहोदर दाजु नित्यानन्द पाण्डे पनि साहित्य सर्जिनाका लागि उत्प्रेरक बनेको हुनु पर्छ । अन्तस्करणमा बिम्बको रुपमा रहेको बाल्यकालीन प्राकृतिक सौन्दर्य र हिमाली छटाबाट पनि साहित्य लेखनमा उद्दीप्त भएको हुनु पर्छ । बाणगंगाको साहित्यिक गतिविधि पनि साहित्य सिर्जनाको उत्प्रेरकमध्ये एक हो ।
खण्डकाव्यकार कृष्णप्रसाद पाण्डे गुल्मी जिल्लाको रेसुङगा नगरपालिकाको वडा नम्बर ९ तम्घास सोता भन्ने ठाएमा २०१४ सालमा जन्मेका हुुन । उनको आमाको नाम मतिकला पाण्डे हो भने बाबु गंगाराम पाण्डे हो । उनी सामाजिक व्यक्तित्व हुन् । उनले थुप्रै सम्मान र पुरस्कार पाएका छन् । त्यसरी नै उनी विभिन्न संस्थाहरुका संस्थापक हुन र सदस्य पनि हुन् । उनले २०७७ सालमा ‘वेदनाका फुलहरु’ कविता संग्रह प्रकाशन गरेका थिए । २०७८ मा आएर उनले ‘जीवन प्रवाह’ खण्डकाव्य प्रकाशन गरेका छन् ।
कविता संग्रहबाट एक खुट्किलो पार गर्दै खण्डकाव्यीय स्तमा उठेका छन् । यसलाई गतिशील साहित्यिक यात्राको रुपमा लिनु पर्छ । उनी सिर्जनामा अझै पनि विराम लिने पक्षमा देखिदैनन् । उनको चाहना अरु विस्तार हुँदै जाने देखिन्छ । आशा छ, उनीबाट हामीले थुप्रै साहित्यिक कोशेलीहरु प्राप्त गर्नेछौं । नेपालीय साहित्यमा उनको योगदान बढ्दै जाने छ ।
म खसभाषी हुँ राज्य खस भाषीको मात्र हैन, राज्य सबै भाषाभाषीहरुको साझा भूमि हो । त्यसैले हाम्रो संविधानको भाषिक नीतिमा सबै भाषालाई राष्ट्र भाषा हुन् भनिएको छ । यही धारणाका साथ हामीले सबै भाषा अटाउने, सबै भाषा देखिने र सबै जोडिने संघीय राज्य प्रणालीको विकास गरेका हौं ।
सबै भाषा, साहित्य र कलालाई साझा राज्यमा विन्यास गर्दै मूलधार निर्माण गरिरहेका छौं । नेपाल नेपाली भाषीहरुको मात्र हो भन्ने मनोविज्ञानले अन्य भाषाभाषीहरु वहिस्करणमा परेको महशुस हुने हुँदा सबै भाषिक साहित्यलाई जोड्न सम्बोधन गर्दा नेपालीय भाषा, कला, साहित्य र संस्कृति भनिरहेका छौ । साहित्यकार कृष्णप्रसाद पाण्डे नेपालीय साहित्यभित्र खस भाषा साहित्यको आरधना र साधनामा लागेका देखिन्छ ।
यस कृतिमा भूमिका लेख्दै महाकवि मोदनाथ प्रश्रितले यस काव्यले वि.सं.२००७ सालदेखि अहिलेको नेपाली समाज र देश दुनियाँ देखेर घर फर्की सबै मिलेर बहुआयामिक विकासतर्फ लम्कनु पर्छ लम्कदै पनि छौं भनी निस्कर्ष निकालेको छ भनेका छन् । त्यसरी नै अर्का कवि नित्यानन्द पाण्डेले भूमिकामा वि.सं. १९७० को समाजको ऐना देखाएको कुरा बताएका छन् ।
यो खण्डकाव्य ६ सर्गमा रचिएको छ ।
यसलाई उनले खुट्किलो भनेका छन् । यसलाई सर्ग पनि भनिन्छ । यस कथाको नायक आदित्य हो । पहिलो खुट्किलोमा आदित्य जन्मन्छ, हुर्किन्छ, विवाह गर्छ, छोराछोरी जन्मन्छन् । आर्थिक उन्नतिको लागि केही सोंच्छ र जीवन संगिनी चाँदनीसँग सल्लाह गरेर घिउ लिएर बटौली आई एकजना राम नाम गरेको सहयोगी पात्रसँग कोलकत्ता हुँदै ब्रम्हा पुग्छ । दोस्रो खुट्किलोमा आदित्यले साथीहरुलाई बह्मा आउन चिट्ठी लेख्छ । चिठी पाएर गोरे ब्रम्हा जान्छ । उनीहरुले मिलेर ब्रम्हाको बन्जर भूमिलाई उर्बर बनाएर कमाई गर्छन् । तेस्रो खुट्किलोमा आदित्य थुप्रै पैसा लिएर नेपाल आउँछ । चाँदनी खुसीको उन्मादले रुन्छे । मातापिता खुसी हुन्छन् । उसले खेतबारी किन्छ । केही रहेको पैसा काठमाण्डौंको कुलेश्वरमा घडेरी किन्छ ।
आफ्नो छोरा हेमन्तलाई बुटवलमा व्यापार गर्न सिकाउँछ । यहाँ आउँदा आदित्य साहसिक व्यापारी तथा उद्यमी बन्छ । ऊ फेरि ब्रम्हातिरै जान्छ । चौथो खुटकिलोमा ब्रम्हामा रहँदा बाबाको मृत्युको सन्देश आउँछ । ऊ नेपाल आई काजक्रिया गरेर फेरि बुटवल झर्छ । बाबु छोराले बुटवल र कुलेश्वरमा व्यापार गर्न शुरु गर्छन् । ब्रम्हामा कमाएको धन आफ्नो मुलुकमा ल्याउन नदिंदा ऊ फेरि ब्रम्हा जाँदैन । आदित्यमा देशभक्ति भावना पनि छ । पाँचौ खुटिकलोमा कान्छा छोराको विवाह हुन्छ । छोराछोरी जन्मन्छन् ।
छ्रैंठौंमा आदित्यलाई लोकतान्त्रिक आन्दोलनको समर्थक देखाइएको छ । अन्त्यमा आदित्यको मृत्यु हुन्छ । नातिनी पवित्रा लोकतन्त्रको लागि लड्दा जेल पर्छिन् । यसमा परिवारका सबै सदस्यहरु आर्थिक रुपमा आत्मनिर्भर देखिन्छन् । सबै सुखी र खुसी छन् ।
कथा आरम्भदेखि विकास हुँदै उत्कर्षसम्म पुगेर समाप्त भएको छ । यो ६ सर्गमा रचिएको छ । समयावधिका दृष्टिले ४ पुस्तासम्म जान्छ । खण्डकाव्यमा यति लामो कालावधि हुनुहुँदैन । कथा एकदेशीय छ । जसमा अन्य प्राशाङ्गिक कथाहरु आएका छैनन् । यस खण्डकाव्यमा आएका पात्रहरु सबै पौरखी छन् । देशभक्त छन् र गतिशील छन् । आदित्य प्रमुख गतिशील पात्र हो ।
ऊ साहसी नायक हो । यस कृतिमा संवाद पनि आएको छ । यदाकदा एकालाप देखिए पनि ठाउँ ठाउँमा आएको संवादले खण्डकाव्यीय विशेषतालाई टेवा दिएको छ । यसमा आएको परिवेश तुलनात्मक रुपमा ठूलो छ । तम्घास, बुटवल, काठमाण्डौं, कोलकत्ता, ब्रम्हासम्म विस्तार भएको भएको परिवेश छ । तम्घासमा तत्कालीन समयको परिवेश वर्णन छ । मुख्य नायक आदित्यको आन्तरिक मनोद्वन्द्वको राम्रो चित्रण छ । त्यसरी नै नायक आदित्य वाह्य द्वन्द्वमा पनि भिडेको छ ।
यो खण्डकाव्य झ्याउरे लयमा रचिएको छ । महाकवि देवकोटाले प्रयोग गरेको मानिस ठूलो दिलले हुन्छ जातले हुुुँदैन भन्ने झ्याउरे लय पक्डिएका छन् । यो तीन दुई, तीन दुई, तीन तीन गरी सोह्र अक्षरको हुन्छ । यसमा अति सरल र ग्राम्य भाषाको प्रयोग भएको छ ।
कवि लेख्छन्-
खोरको घोर्ले खसी नै काट्यो, ज्ञानेले त्यो बेला
सासूले दिइन् मार्सीको भात, घ्यू हाली खानला ।
यस कृतिमा ओज गुण छ । वीर रस प्रमुख छ भने अन्य सहायक रसहरु पनि आएका छन् । भावव्यन्जनाका दृष्टिले यो कृति लक्षणा तथा व्यन्जना तहमा पुगेको छैन । भाषा अभिधा स्तरमा छ । भाषा सरल, सरस छ र शुद्ध छ । विशेषतः त्यो समयमा ग्रामीण समाजमा रहेकमा हर्पे, चौंठी, बिरम्ला, सिरम्ला, कोर्काे, फुँगा, मदुस, रैयाँ, शिरफुल, ढुङग्री, मुन्द्री, हबेली, बोक्चो आदि शब्दहरुको प्रयोगले खण्ड काव्यको स्तर उठाएको छ ।
त्यो समयको सामाजिक चित्रण गर्न सक्नु कविको सामर्थ्य हो । यो सामाजिक यथार्थवादी कृति हो । प्रगतिशील दृष्टिकोण पनि आएको छ । यसमा कर्मयोगको सन्देश छ । लोकतन्त्रको आगमनपछि अब क्रान्तिको सन्देश हैन, अन्ध विश्वासको अन्त्य गर्ने, उत्पादनमा उत्साह ल्याउने खालका सन्देश र आदित्यजस्ता पौरखी व्यक्तिको खाँचो छ ।
अन्त्यमा कवि कृष्णप्रसाद पाण्डे नेपालीय साहित्यमा चम्कन लागेका नक्षत्र हुन् । उनबाट आउने दिनहरुमा अरु कला र भावले निखार कृतिहरु आउने छन् भन्ने आशा गरेको छौं । उनी बधाईको पात्र हुन् ।