बुटवल । अमेरिकाको फिर्तीपछि अफगाानिस्ताको आधाभन्दा धेरै भू-भाग तालिबानको कब्जामा परेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनामात्रै अफगानिस्तानबाट अमेरिकी सेनाहरुलाई पूर्णरुपमा फिर्ता गर्ने घोषणा गरेका थिए । उनको घोषणा अनुसार २० बर्षअघि 'आतंकवादविरुद्ध वैश्विक युद्ध' भन्दै जर्ज डब्ल्यु बुशको कार्यकालमा अफगानिस्तान पसेका अमेरिकी सेना यहीँ अगस्ट ३० बाट पूर्णरुपमा स्वदेश फिर्ती हुदैं छन् ।
अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा फेरि तालिबानहरुको सक्रियता बढिरहेको छ । अफगानिस्तानका सरकारी अधिकारीहरुका अनुसार शुक्रबारसम्म देशका १७ वटा प्रान्त तालिबानले कब्जा गरिसकेका छन् । अफगानिस्तानमा ३४ प्रान्त छन् । हेरत, कन्दाहर र गजनी जस्ता ठूला र सुरक्षा तथा रणनैतिक हिसावले महत्व मानिएका शहरहरु तालिबानले कब्जा गरिसकेका छन् ।
अमेरिकी सुरक्षा निकाय पेन्टागनका एक अधिकारीलाई उदृद गर्दै लेखिएको वासिङ्टन पोष्टको एक रिपोर्ट अनुसार तालिबानले आउँदो तीन महिनाभित्रै काबुललाई पनि आफ्नो कब्जामा पारिसक्ने अनुमान छ ।
तालिबान र अफगानी सुरक्षाफौज बीचको बढ्दो तनावका कारण विश्वका अन्यमुलुकहरु निकै चिन्तित देखिएका छन् । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिहरुलाई तत्काल देश छाड्न निर्देश गरिसकेको छ । जो बाइडेनले एक पत्रकार सम्मेलनमार्फत 'तालिबानविरुद्धको अबको लडाइँ अफगानी नागरिहरुले लड्नु पर्ने बताउँदै'आफ्ना कुटनितिक नियोगका पदाधिकारी तथा नागरिहरुलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका हुन् ।
त्यसबाहेक युरोपियन युनियनका राष्ट्रहरुले पनि आफ्ना देशका नागरिकहरुलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।
भारतलगायत मुलुकले काबुलबाहिर रहेका महावाणिज्य दूतावासका सबै कर्मचारीलाई काबुलमा केन्द्रित गरेका छन् । भारत, अमेरिका, बेलायतलगायत मुलुकले त अफगानिस्तानबाट स्वदेश फिर्ता हुन आफ्ना नागरिकलाई आह्वानसमेत गरिसकेका छन् । तालिवानले नियन्त्रण जमाउँदै जाँदा उत्पन्न हुने त्रासदीबीच काबुलस्थित विदेशी दूतावासमा सरकारले एक महिनादेखि सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ ।
११ सेप्टेम्बर २००१ मा अमेरिकी ट्विन टावरमाथि भएको आक्रमणका मुख्य जिम्मेवार मानिएका अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई हस्तान्तरण गर्न नमानेपछि सन् २००१ अक्टोबरमा अमेरिकाले अफगानिस्तानमा हमला गरेको थियो । अमेरिकी प्रयासमा तालिवान सरकार पतन भएसँगै नयाँ सरकार गठन भएको थियो ।
त्यसयता अमेरिका तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) फौजले अफगानिस्तानमा तालिवान विद्रोहीविरुद्ध निरन्तर अप्रेसन सञ्चालन गर्दै आएका थिए । दश वर्षअघि नेटो फौजको कारबाहीमा पाकिस्तानको एबोटाबादमा लादेन मारिएका थिए । त्यसपछि अमेरिकी सरकारले अफगानिस्तानबाट क्रमशः फौज फिर्ता गर्ने घोषणा गरेको थियो, जसलाई यस वर्ष राष्ट्रपति जो बाइडेनले कार्यान्वयन गरेका छन् ।
‘अमेरिका र नेटोसम्बद्ध मुलुकका फौज अफगानिस्तानबाट फिर्ता भइसकेका छन्,’ काबुलमा रहेका स्थानीय पत्रकार सेरजोईले भने, ‘१५ भदौको समयसीमा केवल औपचारिकता मात्र हो, विदेशी सैनिक लगभग फिर्ता भइसकेका छन् ।’ उनका अनुसार अफगानिस्तानको शान्ति र पुनर्निर्माणको मिसनमा आएको नेटो फौज मिसन पूरा नगरी फर्केकोमा काबुलमा चिन्ता व्यक्त हुन थालेको छ ।
अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अमेरिकाले २० वर्षमा अफगानिस्तानलाई बर्बाद बनाएको भन्दै आक्रोश पोखेका छन् । अफगानिस्तानमा अमेरिकाले प्रशिक्षित गरेका करिब ३० हजार सरकारी फौज छन् । अमेरिका र नेटोसम्बद्ध सबै फौजले ठूलो संख्यामा हतियार र गोलाबारुद सरकारी फौजलाई छाडेर गएका छन् । तालिवानसँग सक्रिय ७५ हजारभन्दा बढी लडाकु फौज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, सरकारी फौजलाई तालिम र सुविधासम्पन्न नगरेको भन्दै अमेरिकी सेनाको आलोचना भइरहेको छ ।