बुटवल-रुपन्देहीमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल शुरु भएको छ । रुपन्देहीका केही स्थानीय तह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न उद्योगी व्यवसायीका संघ संस्थाका प्रतिनिधिसमेतको सहभागितामा लकडाउनको विद्यमान मोडल र वैकल्पिक उपायका बारेमा छलफल भएको थियो ।
हालको लकडाउनको अवधिलाई शून्य समय मान्दै संघीय सरकारले घोषणा गरेका राहत प्याकेज सहितका कार्यक्रममा यहाँका निजी क्षेत्रलाई कसरी समावेश गर्ने र सुरक्षाको उपायसहित अत्यावश्यक कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
प्रदेशको अस्थायी मुकाम, तीनै तहका कार्यालयहरु, प्रादेशिक अस्पताल, आइसोलेशन सेन्टर, कोरोना विशेष अस्पताल, वित्तीय संस्था र दुई प्रमुख राजमार्ग समेत बुटवलमा रहेकाले बुटवल र आसपासका स्थानीय तहले एकीकृत रुपमा योजना बनाउने तयारी गरेका हुन् ।
यस्तै क्वारेन्टिनमा रहेकाहरुको संक्रमणको अवस्था यकिन गर्न परीक्षणको दायरा बढाउँदै तीब्र पार्ने, कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने र क्वारेन्टिन र आइसोलेशन विस्तार गर्नेलगायतका विषयमा छलफल भएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।
छलफलमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका प्रमुख, उपप्रमुख र त्यहाँका व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिकासहितका अरु पालिकाका प्रमुख अरु काममा व्यस्त रहेकाले टेलिफोनबाटै कुराकानी भएको बुटवलका प्रमुख सुवेदीले बताए । महामारीका विरुद्ध सबै पालिकाको साझा संकल्प र प्रतिबद्धता कायम रहेको बताउँदै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सोही संकल्पलाई साकार पार्ने र प्रतिवद्धतालाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।
अत्यावश्यक सेवाप्रवाहका क्षेत्र तथा प्रतिष्ठानलाई खुला राख्ने समयावधि एउटै बनाउने, भिडभाड कम उपाय खोज्ने, समुदायमा सचेतनाका कार्यक्रमहरु प्रसार गर्ने विषयमा पालिकाहरुका बीचमा एकमत भएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।