बुटवल । तिलोत्तमा नगरपालिकाले आफ्नो नगरक्षेत्रबाट उत्सर्जन हुने जैविक फोहोरबाट बायोग्यास उत्पादन गर्ने योजना ल्याएको छ ।
घरायसी, औद्योगिक लगायत नगरपालिकाका विभिन्न क्षेत्रमा संकलन हुने फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने योजना नगरपालिकाको रहेको छ ।
उत्सर्जित फोहरमैलाको व्यवस्थापन र बैकल्पिक उर्जाको प्रवद्र्धनमा यस्तो योजना बलियो कदम हुने ठहर नगरपालिकाको रहेको छ ।
फोहोर संकलन र व्यवस्थापनका लागि नगरपालिकाले अहिले हरित पुन:उत्थान प्रवद्र्धन परियोजना (पीजीआरपी) शुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागिता वास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।
फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए । यसको लागि घर, उद्योग, व्यवसाय तथा संघसंस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने उनको भनाई छ । हाल तिलोत्तमाले नेपालमै पहिलो पूर्ण सरसफाईउन्मूख नगरपालिका घोषणा भएको जनाएको छ । अहिले यहाँको फोहर तिनाउ नदी र सुखौरा खोलाको नदी उकास क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ ।
परियोजना अन्तर्गत बायोग्यासस तथा प्रांगारिक मल उत्पादन गर्ने तथा व्यवसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको श्रोतलाई बढावा दिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमकोे पहिलो वर्षमा फोहोरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्न करिब ४० जनालाई लक्षित गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले फोहोर संकलन, वर्गीकरण, पुन:प्रयोग तथा विसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिने आयोजनाको लक्ष्य छ ।
रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिने परियोजनामा ७० प्रतिशत महिलालाई प्राथमिकतामा राखी विपन्न वर्गलाई लक्षित गर्दै २ सय ६० जनाले प्रांगारिक मल र बायोग्याँस उत्पादन तथा व्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् ।
यस्तै नगरपालिकाभित्रका २ सय ६० घरधुरीलाई प्राङ्गारिक मल उत्पादन गर्ने सीप तथा प्रविधि प्रदान गरिनेछ । आयोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।
त्यस्तै परियोजना अन्तर्गत् यूएनडीपीले तिलोत्तमा नगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुन:स्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्याउने जनाइएको छ । नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई परियोजनामार्फत् दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रति अपनत्वको भावना जगाउन मद्दत पुर्याउने बताइन् ।
अहिले तिलोत्तमा नगरपालिकाको फोहर दुई वटा संस्थाले दुई फरक स्थानमा व्यवस्थापन गर्दै आएका छन् । वडा नं १ देखि ६ सम्मको फोहर संकलन गरी तिनाउ नदी उकास क्षेत्रमा व्यवस्थापन गरिएको छ भने वडा नं ७ देखि १७ सम्मको फोहर सुखौरा खोलाको नदी उकास क्षेत्रमा व्यवस्थापन गरिएको छ ।