काठमाडौँ - एमालेका उपाध्यक्ष भिम रावलले प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सभामुख अग्नीप्रसाद सापकोटालाई भेटेर रावलले राजिनामा फिर्ता लिएको संसद सचिवालयले जनाएको छ।
साउन ३ गते प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत लिने बेलामा रावलले राजिनामा दिएको घोषणा गरेका थिए। माधवकुमार नेपालसहित एमालेका केही सांसदले विश्वासको मत दिने भएपछि असन्तुष्ट भएर पत्रकारहरुसँग राजिनामा पढेर सुनाएका थिए।
पार्टीका दुबै नेता केपी ओली र माधवकुमार नेपालले रावललाई राजिनामा फिर्ता लिन आग्रह गरेका थिए। यस्तै सुदूरपश्चिम प्रदेशसभाका रावल समर्थक मन्त्री र सांसदहरू उनको राजीनामा फिर्ता गराउन काठमाडौं आएका थिए। उनीहरुले रावललाई भेटेर राजिनामा फिर्ता लिन दबाव दिएका थिए।