बुटवल-यो पटक चैत्र र वैशाख आम मानिसको दैनिकी कोठाभित्रै बितिरहेको छ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस, नेपालमा परेको असर र लकडाउनको कारण मानिसहरु बाहिर निस्केका छैनन्।
सरकारले लकडाउन गरेपनि एक प्रकारले मानिसहरु स्वस्फूर्त रुपमा घर भित्रै रहेका छन्।सडकमा सवारी साधन चलेका छैनन्, पसल व्यवसाय, उद्योग कलकारखाना बन्द छन्।तर, एकछिन आजभन्दा ठीक १४ वर्ष अघि चैत्रको अन्तिम र बैशाखको सुरुवाती समय सम्झिउँ त।
अवस्था लगभग यस्तै थियो।सडकमा सवारी साधन चलेका थिएनन्।यातायात ठप्प थियो।बजार कलकारखाना बन्द नै थिए।
तर फरक ठूलो संख्यामा मानिसहरु सडकमा निस्केका थिए।कोरोनाको महामारीको यो समयमा हामीले भीडको कल्पना गर्न सक्दैनौ।फरक यत्ति हो २०६२/६३ को आन्दोलनमा सारा मानिसहरु सडकमा निस्केका थिए।
ठाउँ–ठाउँमा निरंकुशता विरुद्ध नारा लाग्थे, भाषण हुन्थे।आज मानिसहरु एक भएर सरकारको लकडाउनको आह्वानलाई सहयोग गरेका छन्।
तर त्यसबेला आन्दोलन दबाउन सरकारले लगाएको कफर््यु उल्लंघन भएको थियो।दोस्रो जनआन्दोलनले मुलुक तातेको थियो।
रुपन्देहीमा पनि विभिन्न ठाउँमा आन्दोलन भएका थिए।हाल प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका लिला गिरी त्यसबेला तत्कालीन नेकपा एमालेको जिल्ला सचिव थिए।त्यस बेला सचिव नै पार्टीको जिल्ला प्रमुख हुने व्यवस्था थियो।
गाउँगाउँबाट मानिसहरु ¥याली सहित बुटवल आउने गरेको गिरी सम्झन्छन्।‘पूर्वमा खैरेनी, पश्चिममा सालझण्डीसम्मको जुलुस बुटवल आउँथ्यो–उनी सम्झिन्छन्–दक्षिण तर्फ भने भलवारीबाट उत्तरको जुलुस बुटवल आउथ्यो।उताको जुलुस भैरहवा जान्थ्यो।जिल्लामा आन्दोलनको मुख्य केन्द्र बुटवल र दोस्रो केन्द्र भैरहवा थियो ।’
जनआन्दोलनको लागि दलगत कमाण्डरसँगै सर्वदलीय कमाण्डर पनि तोकेर कार्यक्रम गर्ने गरेको एमालेका तत्कालिन पार्टी सचिव गिरीले बताए।
मुलुकमा शाहीशासन थियो।निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र स्थापनाको लागि सरकार विरुद्ध सबै दल एक भइ आन्दोलनमा होमिएका थिए।त्यसको लागि सबै पार्टीको बैठक बसेर दिनै पिच्चेका कार्यक्रम तय गर्ने गरेको नेपाली कांग्रेस रुपन्देहीका तत्कालीन जिल्ला सभापति रामचन्द्र ढकालले बताए।
‘सबै पार्टीको संयुक्त बैठक बसिन्थ्यो।कहाँ कसरी कुन ठाउँमा कार्यक्रम गर्ने भनेर निर्णय गरिन्थ्यो–उनले भने–‘प्रत्येक पटक फरक फरक पार्टीको अध्यक्षतामा बैठक गथ्यौं ।’
१० वर्षे शसस्त्र द्वन्द्व गरेको नेकपा माओवादी युद्धविराम गरेर आन्दोलनमा सहभागी थियो।सार्वजनिक कार्यक्रममा नदेखिएपनि माओवादी जनआन्दोलनमा सहभागी थियो। ‘माओवादीका नेताहरुसँग पटक पटक फोनमा कुरा हुन्थ्यो।केही गोप्य मिटिङ पनि बसियो–तत्कालीन कांग्रेस जिल्ला सभापति ढकालले भने–‘कार्यक्रममा उहाँहरुले भाषण गर्नुहुन्थेन।सहयोग र सहभागिता मात्र जनाउनुहुन्थ्यो।’
दिल्लीमा भएको ७ दल र तत्कालीन द्वन्द्वरत माओवादी बीचको १२ बुँदे समझदारी जनआन्दोलन गर्ने तय गरेको थियो। जस अनुरुप नेकपा माओवादी पनि अप्रत्यक्ष रुपमा आन्दोलनमा सहभागी भएको हाल प्रदेश सभा सदस्य रहेका तत्कालीन माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी दधिराम न्यौपानेले बताए।
‘म प्रत्यक्ष रुपमा सहभागी हुँदा त्यसबेला गिरफ्तार गर्दथ्यो। त्यसैले गाउँमा बसेर सहयोग गर्थें–उनले भने–‘जिल्लाको पश्चिम भागमा बसेर जनतालाई आन्दोलनमा जानुपर्छ भनेर बुटवल भैरहवा पठाउने गरेको थिएँ ।’
भूमिगत अवस्था रहेपनि सबै पार्टीसँग नियमित सम्पर्क र छलफल हुने न्यौपानेले बताए।
अप्रत्यक्ष रुपमा सहभागिता जनाएको नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेसबाहेक कांग्रेसबाटै विभाजित भएको कांग्रेस प्रजातान्त्रिक पनि संयुक्त आन्दोलनमा थियो।जसको नेतृत्व हालकै सभापति अब्दुल रज्जाकले गरेका थिए।
त्यसै गरी नेपाल सद्वाना पार्टी, जनमोर्चा नेपाल, नेपाल मजुर किसान पार्टी र संयुक्त बाममोर्चा संयुक्त जनआन्दोलनमा थिए।
बुटवल भैरहवामा मात्र नभई गाउँ गाउँमा आन्दोलन हुन्थ्यो।आन्दोलनका क्रममा सडकमा नारा र भाषण बाहेक गित कविता, व्यंग प्रस्तुत गरिन्थे।
साँझको बेला राँके जुलुस हुन्थ्यो।१९ दिने दोस्रो जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र आयो।सशस्त्र द्वन्द्वरत माओवादी शान्तिप्रक्रियामा आयो।मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आयो।दुई दुईवटा संविधान सभाको चुनाब भयो।नयाँ संविधान बन्यो।मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।
केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहका सरकार बने।लोकतन्त्रको १४ वर्षमा केही काम त बढे।तर अझै जनचाहना अनुरुप काम हुन नसकेको भन्दै आलोचना पनि हुने गरेको छ।कोरोनाको महामारीका कारण सबै ठप्प छ।