काठमाडाैँ- आगामी भदौ १६ गतेदेखी १९ गतेसम्म काठमाडौमा हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा आवश्यक परे डिजिटल भोटिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ। डिजिटल भोटिङको लागि प्रविधि सुनिश्चित भएको र आवश्यक परे त्यसको लागि तयार रहेको कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभागले जनाएको छ।
विभाग प्रमुख तथा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको छ । पार्टीको केन्द्रीय समितिले आवश्यक ठहर गरेमा महाधिवेसनमा डिजिटल भोटिङ प्रविधि प्रयोग गर्न सकिने विभागले निर्णय गरेको छ ।
‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ ।’ कांग्रेसको सुचना तथा प्रचार विभाग सचिव दिनेश थापा मगरले भने ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’
प्रविधि मार्फत ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको भन्दै थापाले प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको बताए ।
‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ । जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको समेत विभागले जनाएको छ ।