बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ को परिक्षणका लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गति तीब्र बनाउन निर्देशन दिएका छन्।
उनले कामको गति बढाउनुपर्ने र आपसी समन्वय बढाएर नतिजा निकाल्नुपर्ने बेला आएको बताउदै सञ्चालन भएका प्रयोगशालामा परीक्षणको गति बढाउन र सञ्चालन नभएका ठाउँमा छिटै सञ्चालन गर्न निर्देशन दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा उनले भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए।
“अब अझै कामको गति बढाऔं, तत्काल कामको नतिजा चाहिएको छ, अझ धेरै मिहिनेत गरेर अहिलेसम्मको कामको नतिजा निकालौं, परिक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मिहिनेत काम लाग्छ—उनले भने।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा आइसियु सहितको कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको छ। कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र बिरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए।
बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने काम बारे जानकारी गराएका थिए।