काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ। आइतबार बसेको एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई विश्वासको मतको विपक्षमा मतादान गर्ने निर्णय गर्दै पक्षमा मतदान गर्नेहरु एमालेमा बस्न नमिल्ने बताएका हुन्। ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नो पार्टीको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीमा रहनुहुन्न । यो चाहिं प्रष्टै हो ।’ उनले भने ।
गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमतिबमोजिम नेता नेपाल अघि बढ्न नचाहेको ठहर आफूहरुले गरेको ज्ञवालीले जानकारी दिए। 'आजको बैठकपछि उहाँ बेग्लै कोर्समा हिँड्न खोज्नु भएको देखियो' उनले भने ।
संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ।