सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता भए पनि आजै लिने तयारी गरेका छन् ।
उनले विश्वासको मत लिनका लागि प्रस्तावको पक्षमा १३६ मत आवश्यक पर्छ । त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन् ।
विजयकुमार गच्छदार र अफ्ताव आलमले मत दिन पाउने छैनन् । तर कायम संख्यामा भने उनीहरुको गणना हुनेछ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्तमा परेका छन् । उनीहरु अहिले सांसद पदमा छैनन् ।
स्वतन्त्र रुपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन् ।
नेकपा एमालेमै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो ।
जनता समाजवादी पार्टीका जम्मा ३२ सांसद रहेका छन् । ३४ मध्ये दुईजना निलम्बित छन् । रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन् ।
त्यसैले ३२ मध्ये अधिकांश सदस्य बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको स्रोत बताउँछ । यसअघि शनिबार बसेको सो समूहको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो समूहका पाँच सांसद उपस्थित भएका थिए ।
माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए ।
सो समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन् । संसद्मा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ । त्यसका लागि माधव नेपाल पक्षका ८ सांसदले मात्रै देउवाको पक्षमा मतदान गरेपनि देउवाले विश्वासको मत पाउनेछन्।
त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।