काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिन लागेपछि नेकपा एमालेको माधव नेपाल समूह छलफलमा जुटेको छ । नेपाल निवास कोटेश्वरमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू जम्मा भएका छन्।
यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी हस्ताक्षर बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ ।