बुटवल-लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेपनि प्रदेश प्रमुखको कार्यालयले सरकारको पत्र प्राप्त नभएको जनाएको छ।
बिहान १०:३८ बजेसम्म सरकारले गरेको निर्णयको पत्र प्राप्त नभएको प्रदेश प्रमुखको कार्यालयका उपसिचव चिरञ्जीवि पौडेलले जानकारी दिए। 'अहिलेसम्म पत्र प्राप्त भएको छैन-उनले लुम्बिनी टाइम्ससँग भने-पत्र आउनेबित्तिकै हामीले वेभसाईटमा राख्छौं।'
लुम्बिनी प्रदेश सरकारले शुक्रबार बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको थियो। बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले लुम्बिनी टाईम्सलाई जानकारी दिए।
यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए। उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईनेछ।
आज बिहान मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरी प्रदेश प्रमुख समक्ष सिफारिस गरेको चौधरीले बताए।
कार्यालय समय शुरु भएपछि त्यसलाई प्रदेश प्रमुखको कार्यालयले अघि बढाउनुपर्ने उनले बताए।